
डा. हर्क गुरुङ एवार्ड गोरखाका सुनार गुरुङलाई
यसबर्षको जिटिन डाक्टर हर्क गुरुङ एवार्ड गोरखाका सुनारबहादुर गुरुङले पाएका छन् ।
गुरुङ पर्यटन व्यवसायी संघ(जिटिन)ले शनिबार एक समारोहको आयोजना गरी नेपालका प्रथम अन्तर्राष्ट्रियस्तरका पर्वतारोहण पथ प्रदर्शक गुरुङलाई सो सम्मान गरेको हो ।
राजधानीमा आयोजित समारोहमा प्रतिनिधि सभा सांसद पार्वत गुरुङ तथा गुरुङ पर्यटन व्यवासयी संघका अध्यक्ष कमला गुरुङले एवार्ड हस्तान्तरण गरेका हुन् । ‘नेपालकै पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकका रुपमा सक्रिय रहेर यस क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल(जिटिन)ले नेपाली पर्यटन क्षेत्रका विज्ञ डा. हर्क गुरुङको नाममा स्थापना गरिएको जिटिन डा. हर्क गुरुङ एवार्डबाट तपाईलाई सम्मान गरिएको छ’ सो सम्मान पत्रमा भनिएको छ ।

धार्चे गाउँपालिका ४ लाप्राकका गुरुङले सन् २००८ मा फ्रान्सको एनसा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथप्रदर्शकको डिग्री हाँसिल गरेका थिए ।
त्रिनेत्र एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक रहेको गुरुङ नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका उपाध्यक्ष, गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९, ०२०, ०२१ र ०२२ को मूल आयोजक समिटिका सदस्य, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष, हुन् ।
तस्वीर : लालबहादुर गुरुङ ।




