
राष्ट्रिय विभूती भिमसेन थापाको २४४ औं जन्मजयन्तीमा विभिन्न कार्यक्रम
राष्टिूय विभूती भिमसेन थापाको २४४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ । थापाको जन्मथलो गोरखा नगरपालिका ४ स्थित पिपलथोकको भिमसेन पार्क र पुर्खौली थलो भीमसेन थापा गाउँपालिका वडा नं. ८ चण्डीथानमा विभिन्न कार्यक्रमका साथ २४४ औ जन्मजयन्ती मनाईएको हो ।
गोरखा नगरपालिका वडा नं ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा पिपलथोकमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, उप मेयर बिनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरुले थापाको योगदानको चर्चा गरेका थिए । इतिहासलाई सम्मान गर्दै भावी पुस्तालाई यस विषयमा ज्ञान दिनुपर्ने उनिहरुको भनाई छ ।
नेपालका प्रथम प्रधानमन्त्री थापाको सम्झनामा गोरखा नगरपालिकाले पिपलथोकमा भिमसेन पार्क बनाएको छ । सोही पार्कमा थापाको पुर्ण कदको सालिक स्थापना गर्ने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए । कार्यक्रम अघि बाजागाजा सहित ¥याली पनि निकालिएको थियो ।
थापाको पुर्खाैली थलो भीमसेन थापा गाउँपालिका वडा नं. ८ चण्डीथानमा पनि औपचारिक कार्यक्रमको आयोजना गरि उनको स्मरण गरिएको छ । थापाको नामबाट गाउँपालिकाको नाम राखिएकाले उनको घर भएको ठाउँ विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष इश्वर पाण्डेले बताए। सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाले तय गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार भीमसेन थापाको जन्मजयन्तीका दिन बिहिबार गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिएको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए।




