| शनिबार, साउन २९, २०८३

चिनियाँ पर्यटक पनि निजी सवारी लिएर आउन थाले नेपाल

 

पोखरामा पछिल्लो समय चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गरिरहेको देखिन थालेका छन्।

यसअघि भारतीय पर्यटक निजी सवारी लिएर पोखरा घुम्न आए पनि चिनियाँ पर्यटक भने पहिलो पटक निजी सवारी लिएर पोखरासम्म घुम्न आएको पर्यटन व्यवसायीहरु बताउँछन्।

चीनको हान्जाउँ सहरबाट चिनियाँ व्यवसायीको टोली रसुवा नाका हुँदै काठमाण्डौ, चितवन, लुम्बिनी हुँदै सुविधा सम्पन्न ७ वटा गाडीमा पोखरा आएका हुन्। पोखराको भ्रमण गरेर उनीहरु तनहुँको बन्दीपुर हुँदै रसुवा नाकाबाट चीन फर्कने योजना रहेको भ्रमणमा सहभागी स्याउसीले बताए।

चिनियाँ पर्यटकलाई पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले पोखरामा स्वागत गरेका थिए। उनीहरुले नेपाल भ्रमण वर्ष २०२० को लोगो चिनियाँ पर्यटकलाई हस्तान्तरण गरेका थिए। नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

पहिले युरोपीयन पर्यटक विभिन्न देश हुँदै क्याराभान (गाडी लिएर) पोखरासम्म घुम्न आउँथे। पछिल्लो समयमा चिनियाँ पर्यटक पनि त्यस्तै एड्भान्चर ड्राइभिङ गर्ने क्रम बढेको र उनीहरुको रोजाइ नेपाल पनि पर्नु सकरात्मक रहेको परिषदका उपाध्यक्ष भट्टराइ बताउँछन्।

प्रतिक्रिया दिनुहोस्