| शुक्रबार, साउन २८, २०८३

हावादारी कुरा गर्दै नहिड्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई सांसद दवाडीको आग्रह

 

गण्डकी प्रदेशसभाका सांसद प्रकासचन्द्र दवाडीले मुख्यमन्त्रीले जुवाघर र क्यासिनो खोल्ने भन्दै हिडेकोप्रति आपत्ति जनाएका छन् । कानूनले बर्जित गरेको जुवाघर खोल्ने बारे मुख्यमन्त्रीको अभिव्यक्तिले गण्डकी प्रदेशकै बेइज्जत भएको भन्दै उनले मंगलबार संसदमा चिन्ता ब्यक्त गरे ।
‘मुख्यमन्त्री भन्ने पद प्रदेशका लागि ठूलै हो, उहाँले जे मुखमा आयो त्यही बोल्दै हिड्दा प्रदेशको गरिमा र प्रतिष्ठालाई बिर्सनु हुदैन’, उनले भने, ‘कहिले पोखरामा रेडलाइट एरिया भन्दै हिड्नुहुन्छ । कहिले जुवाघर, क्यासिनो बनाउने भन्दै हिड्नुहुन्छ । यसरी विवादास्पद कुरा बोल्दै स्पष्टिकरण दिदै गर्नुभन्दा बरु संसदमा छलफल गरेर पारित भएका बिषयमा मात्र मुख्यमन्त्रीले बाहिर बोल्ने प्राक्टिस गर्न मेरो अनुरोध छ ।’
पर्यटन विकास गर्न भन्दै सरकारले होमस्टेका लागि वितरण गरेको पैसाले कार्यकर्ता पोस्ने काम मात्र भएको सांसद दवाडीको आरोप छ ।

‘गोरखाको पालुङ्टार, लिगलिगकोट, सिरानचोक, अजीरकोट, नम्की, सिरानडाँडा, नागेपोखरी, दुधपोखरी क्षेत्र पर्यटन विकास योजनामा कहिँपनि परेको छैन । गोरखा दरबार, ताप्लेकोटदेखि बुढीकोटसम्मको क्षेत्र छुटाइएको छ’, दवाडीले भने, ‘स्वाँरा, सुलिकोट, धार्चे, बारपाक हुदै रुपिनालापासलाई पनि छुटाइएको छ । बारपाक, लाप्राक, गुम्दा हुदै मनास्लु क्षेत्रबाट तिब्बत जोड्ने क्षेत्रको बारेमा पनि कुनै योजना छैन ।’ पाँचबर्षे आयु भएको सरकार दुई बर्ष भइसकेकाले अब पनि हावादारी कुरा गरेर मात्र पर्यटन विकास नहुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्