
मनकामनामा जेठ महिनामा अहिलेसम्मकै धेरै एकलाख ३५ हजार पर्यटक
मनकामना केवलकारमा जेठ महिनामा अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् । जेठ महिनामा एक लाख ३५ हजार दुई सय ७२ जनाले यात्रा गरेका केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
केवलकार संचालनमा आएको दुई दशकको अबधिमा एक महिनाको अवधिमा यतिधेरै यात्रुले यात्रा गरेको पहिलो पटक भएको उनको दाबी छ । उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाखले केवलकारको यात्रा गर्ने सम्भावना छ। जेठसम्ममा ११ लाख यात्रुले केवलकारको यात्रा गरिसकेका छन्। मनकामना मन्दिर पुनर्निर्माणपछि भक्तजनको चाप बढेको छ । जसकारण केवलकारमा यात्रा गर्ने थपिएका छन्।

पछिल्लो समयमा यात्रुको चाप बढ्न थालेपछि कम्पनीले केही महिना अघि तीनवटा गोन्डोला(डिब्बा) थपेको थियो। तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ। मनकामना दर्शनका लागि नेपाली वाहेक भारतीय पर्यटक समेत उल्लेख्य आउँछन्। श्रेष्ठका अनुसार केवलकारमा यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय छन् ।
कम्पनीले नै सडकमार्गबाट आउने भारतीयका लागि वेसस्टेशनमा खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएको छ। ‘हामीले भारतीय पर्यटकलाई लक्षित गरेर खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएका छौं। उनीहरुले त्यही खाना पकाउने र मनकामना दर्शन गर्न जाने गर्छन्।’ श्रेष्ठले भने,’ त्यो व्यवस्थाले समेत भारतीय पर्यटकको आकर्षण बढेको हो।’




