
भीमसेन थापा गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न, ७८ लाख रुपैंया रकमान्तर
गोरखाको भिमसेन थापा गाउँपालिकाले विभिन्न शिर्षकमा ७८ लाख रुपैयाँ रकमान्तर गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको चौथो गाउँसभाले गाउँ कार्यपालिका बैठकको निर्णय अनुमोदन गर्दै आबश्यकताका आधारमा बाडँफाँड गर्ने शिर्षकबाट शिक्षक तलब, सामाजिक सुरक्षा, सडक स्तरोन्नती, सिपविकास तालिम र जनचेतना लगायतका शिर्षकमा ७८ लाख रुपैयाँ रकमान्तर गरेको हो । गाउँसभामा दिईएको जानकारी अनुसार चालु आर्थिक बर्षको बजेटमध्ये हालसम्म औसतमा ३२ प्रतिशत मात्र खर्च भएको छ । पुजिगत खर्च १३ र चालु खर्च ५२ प्रतिशत रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापाले जानकारी दिए । सम्पन्न भएका धेरै योजनाहरुलाई भुक्तानी दिन बाँकी रहेको तथा जनशक्ति अभावका कारण पनि खर्च कम भएको उनको भनाई छ । गाउँसभाले विकास निर्माणका कामलाई तिब्रता दिने पनि निर्णय गरेको छ । विकास निर्माणलाई प्रभावकारी बनाउन जेठ १५ भित्रै भुक्तानी लिइसक्नुपर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताए । सभामा आगमी बर्षको योजना छनौटका सन्दर्भमा पनि छलफल भएको छ ।
चालु आर्थिक बर्षको कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई बृहत रुमपा छलफल गरेर बजेट ब्यबस्थापन गर्ने विषयमा छलफल भएको छ । चालु बर्ष कार्यान्वयन हुन नसकेका रणनितिक महत्वका योजनालाई आगामी बर्ष पनि निरन्तरता दिने विषयमा छलफल भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताए ।




