
गोरखकाली मन्दिरको भेटी ब्यवस्थापनका लागि कार्यविधि बन्दै
सरकारले निर्देशिका जारी गरेको ३ वर्षपछि गोरखकाली मन्दिरको भेटी ब्यवस्थापनको तयारी शुरु भएको छ । धार्मिक स्थलको भेटी व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका जारी गरेपनि गोरखकाली मन्दिरमा त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
अहिले भने भेटी ब्यवस्थापनका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु गरिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘कार्यालय प्रमुखहरुको बैठकमा पनि मन्दिरको भेटी ब्यवस्थापनबारे गम्भिर कुरा उठ्यो’ हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार भेटी ब्यवस्थापनका लागि कार्यविधि बनाउन शुरु गरिएको छ ।’
कार्यविधि बनाउने कामको सहजीकरणका लागि पुरातत्व विभागलाई पत्राचार गरिएको उनको भनाई छ । बैशाख ४ गते भएको कार्यालय प्रमुखहरुको बैठकले एक हप्ताभित्र कार्यविधि बनाउने सामुहिक निर्णय गरेको हो ।
हेरचाह अड्डामा यस सम्बन्धी जानकार जनशक्ति नभएकाले विभागलाई पत्राचार गरिएको कट्टेलले बताए ।
सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिक स्थलका हकमा लागू हुने गरि भेटी ब्यवस्थापन निर्देशिका जारी गरेको थियो ।
निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई धार्मिकस्थल भनी परिभाषित गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ कात्तिक २ गते निर्देशिका जारी गरेको थियो ।
धार्मिक स्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवम् जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
तर गोरखकाली मन्दिर र आसपासका धार्मिक स्थलमा चढाइएको भेटी पूजारीले आफैं लैजाने गरेका छन् । गोरखकाली मन्दिरमा नायव सुब्बा तहका ३ जना ब्राम्हण पूजारी, खरिदार तहका ३ जना भित्रिया सुसारे र सोही तहका ३ जना भिरकोटे सुसारेले पालो अनुसार दैनिक पूजाआजा सञ्चालन गर्दै आएका छन् ।
उनीहरुले आफ्नो तह अनुसार सरकारी तलव सुविधा पाउँदै आएपनि भक्तजनले चढाएको भेटी पनि आफैंले लैजाने गरेका छन् । दानपेटीकामा चढाइएको भेटी भने बैङ्कमा जम्मा हुँदै आएको हेरचाह अड्डाले जनाएको छ ।
गोरखकाली मन्दिर क्षेत्रमा भक्तजनहरुको चाप अनुसार न्यूनतम २÷३ हजारदेखि विशेष पूजा आजाका दिनहरुमा दैनिक १० हजार रुपैयासम्म भेटी संकलन हुने बताइन्छ । दानपेटीकामा चढाइएको भन्दा भक्तजनले मन्दिरमा चढाउने भेटी धेरै हुने भएकाले ब्यवस्थापन गर्न सकिए मन्दिरको आम्दानी पनि बढ्ने हेरचाह अड्डाका एक कर्मचारीले बताएका छन् ।
‘मन्दिरका पूजारी सरकारका जागीरे हुन्, उनीहरुले सरकारले दिएको सेवा सुविधा लिएपछि भेटीमा लोभ गर्नु हुँदैन’ प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने, ‘भेटी ब्यवस्थापन गरेर त्यो पैसा मन्दिरकै विकासमा लगाउने हो, यसले सबैको हीत हुन्छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशिकाले समेट्ने जिल्लाका अरु धार्मिक स्थलको भेटी ब्यवस्थापनका लागि पनि पहल भैरहेको प्रजिअ श्रेष्ठको भनाई छ ।




