
चौधौं पश्चिमकाली मेला सुरु, आज वडास्तरीय नृत्य प्रतियोगिता
गोरखा नगरपालिका ५ पस्लाङको पश्चिमकाली मन्दिरमा नयाँ बर्षको अबसरमा १४ औं पश्चिम काली मेला सुरु भएको छ । ‘समृद्ध गोरखा हाम्रो पहिचान कला, संस्कृति र पर्यटन प्रबर्दन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थानिय कला, संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको हो ।
पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन एवं संरक्षण संस्थाको आयोजनामा भएको मेलाको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे । समुन्द्री सतहदेखी ४२ सय फिटको उचाईमा रहेको पश्चिमकाली मन्दिर आसपासका नामरुङ देवी, खड्गदेवी मन्दिर, द्रब्यशाहको सालिक लगायतका पर्यटकीय क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि गोरखा नगरपालिकाले सघाउने मेयर पन्तले बताए ।
मेलाको पहिलो दिन लोकदोहोरी कलाकार हरिराम परीयार र बिनिता गुरुङको प्रस्तुती थियो । साथै पस्लाङ पञ्चेबाजा, मिरकोटको भजन, गोरखा कला केन्द्र र कालिका सांस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्ट ग्रुपको प्रस्तुती पनि भएको छ । मेलाका खानाका परिकारको दश स्टल रहेका छन् । मेलास्थलमा नै निशुल्क स्वास्थ्य जाँच शिविर पनि सञ्चालन गरिएको छ ।
आयोजक संस्थाका अध्यक्ष टेक बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर बिनाकुमारी श्रेष्ठ, वडाअध्यक्ष रामकुमार थापा मगर, नगर सदस्य गीता थापा मगर, रोहित बोहरा, उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका राजन ढुंगाना लगायतले मन्तब्य व्यक्त गरेका थिए । मेलाको पहिलो दिन तिन हजार भन्दा दर्शकले अबलोकन गरेका आयोजकले जनाएको छ ।
दुईदिने मेलाकै अबसरमा सोमबार वडास्तरीय नृत्य प्रतियोगिता पनि हुने भएको छ । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका समुहलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र दुई हजार रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ ।




