
बैशाख १ र २ गते पश्चिमकाली मेला हुने
गोरखा नगरपालिका ५ पश्लाङको पश्चिमकाली मन्दिरमा नयाँबर्षको अबसरमा १४औं पश्चिमकाली मेला २०७६ हुने भएको छ । पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन एंव संरक्षण संस्थाको आयोजनामा आगामी बैशाख १ र २ गते मेला हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो । मेलाको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गर्ने आयोजक संस्थाका अध्यक्ष टेकबहादुर थापा मगरले बताए ।
‘समृद्ध गोरखा हाम्रो पहिचान कला, संस्कृति र पर्यटन प्रबर्दन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थानिय कला, संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरेको उनको भनाई छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलकारको प्रस्तुती, कालिका सांस्कृतिक कला केन्द्र तथा गोरखा मल्टिट्यालेन्ट ग्रुपको प्रस्तुती, लगायतका कार्यक्रम हुनेछन् । मेलाकै अबसरमा वडास्तरीय नृत्य प्रतियोगिता पनि हुने भएको छ । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका समुहलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र दुई हजार रुपैयाँ पुरस्कार दिईनेछ । मेला सम्पन्न गर्न दुई लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको संस्थाका पुर्व अध्यक्ष शारदाप्रसाद भट्टराईले बताए । गोरखा नगरपालिका, वडा कार्यालय, लगायत विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा मेला सम्पन्न गर्ने संस्थाले जनाएको छ । समुन्द्री सतहदेखी ४२ सय फिटको उचाईमा रहेको पश्चिमकाली मन्दिर आसपास नामरुङ देवी, खड्गदेवी मन्दिर, द्रब्यशाहको शालिक लगायतका पर्यटकिय क्षेत्र छन् । मगर समुदायको बाहुल्यता रहेको पश्लाङ गाउँमा होमस्टे समेत सञ्चालनमा रहेकोले नयाँ बर्षमा रमाउन चाहने आन्तरीक तथा बाह्य पर्यटकलाई पश्चिमकाली उपयुक्त गन्तब्य हुने संस्थाका अध्यक्ष मगरले बताए ।




