
गोरखाका नौ होमस्टेलाई सरकारी अनुदान
अनुपमा खनालः गोरखामा सञ्चालित नौवटा होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखाका नौ वटा होमस्टे अनुदानका लागि छनोट गरेहो हो । होमस्टेको पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पुँजीगत अनुदान दिने निर्णय गरेको हो ।
गोरखा नगरपालिकाको पस्लाङ होमस्टे, शहीद लखन गाउँपालिका २ को बेतिनी सामुदायिक होमस्टे र शहीद लखन गाउँपालिका ७ को शहीद लखन सामुदायिक होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका हुन् । यस्तै, पालुङटार नगरपालिका ३ को पाँचचिहान सामुदायिक होमस्टे, अजिरकोट गाउँपालिकाको चामे छहरा सामुदायिक होमस्टे, बुद्धनम्की सामुदायिक होमस्टे, प्रगति सामुदायिक होमस्टे र झ्याल्लाभुमे सामुदायिक होमस्टे पनि अनुदानका लागि छनौट भएका छन् । जिल्लाकै पुरानो होमस्टेका रुपमा परिचित बारपाक सुलिकोट गाउँपालिका २ को बारपाक होमस्टेले पनि अनुदान रकम पाउने भएको छ ।
जिल्लाबाट प्रस्तावित ११ मध्ये नौ वटा प्रस्ताव स्वीकृत भएको डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । अनुदान स्वीकृत भएका होमस्टेले डिभिजन वन कार्यालयमा सम्झौता गरी काम सञ्चालन गर्नुपर्नेछ । स्वीकृत कुनैपनि होमस्टेसँग सम्झौता नभएको प्रमुख पौडेलले बताए । ‘सम्झौताका लागि स्थानीय तहले १० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने प्रतिबद्धता पत्र आबश्यक पर्छ’, उनले भने, ‘सम्बन्धित सबै होमस्टेलाई स्थानीय तहको प्रतिबद्धता पत्र ल्याउनु भनेका छौँ । अहिलेसम्म कोहिपनि सम्पर्कमा आउनुभएको छैन ।’ जतिसक्दो छिटो अनुदान सम्झौता गरेर प्रस्तावना अनुसार काम थाल्न उनले होमस्टे सञ्चालकहरुलाई आग्रह गरेका छन् । ‘असारसम्ममा उहाँहरुले काम सक्नुपर्छ’ उनले भने ‘जति छिटो सम्झौता भयो उति नै छिटो काम सुरु हुन्छ । अब समय पनि धेरै छैन ।’
अनुदान स्वीकृत प्राप्त गरेका होमस्टेले अधिकतम १० लाख रुपैयाँसम्म अनुदान पाउनेछन् । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताबापत कुल अनुदानको ४० प्रतिशत रकम समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्य विधिमा उल्लेख गरिएको छ । सरकारले होमस्टे सञ्चालन गर्न प्रदान गर्ने कुल अनुदानको १० प्रतिशत रकम सम्बन्धित गाउँपालिका वा होमस्टे व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ । अनुदान पाउने समूहले होमस्टे सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनी स्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । होमस्टे गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधि छ । अनुदानको रकमले सामुदायिक भवन निर्माण गर्ने बेतिनी सामुदायिक होमस्टेका अध्यक्ष लिलबहादुर रानाले बताए । ‘पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाउने भवन बनाउनेछौं’ उनले भने ‘७० सालदेखि गाउँको ११ घरमा पाहुना राख्न थालेका हौं । कार्यक्रम देखाउने भवन नहुँदा झरीमा पाहुनालाई हाम्रो संस्कृति देखाउन सकिदैनथ्यो । अब सजिलो हुने भो’ मनकामना मन्दिरबाट २० मिनेटको दुरीमा रहेको बेतिनी गाउँ मगर समुदायको बाहुल्यता रहेको गाउँ हो । मन्दिर दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक पनि होमस्टेमा बस्ने गरेका उनले बताए ।




