| शनिबार, बैशाख २५, २०८३

जिल्लाकै सबैभन्दा लामो पुल निर्माण

शिव उप्रेती ः सिर्दिबासमा जिल्लाकै सबैभन्दा लामो पुल निर्माण भएको छ । चुमनुब्री ३ पाङसिङबाट गाउँपालिकाको केन्द्र फिलिम जोड्ने गरी बुढीगण्डकीमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।
पुलको लम्बाइ तीनसय तीनमिटर रहेको वडा अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । नदीबाट करिब १७५ मिटर उचाइमा रहेको सो पुल सबैभन्दा अग्लो पुल पनि हुन सक्ने उनले बताए ।
पुल निर्माण भएपछि पाङसिङका १८० घरधुरीलाई गाउँपालिकाको केन्द्र आवतजावत गर्न सजिलो भएको स्थानीयबासी वुद्ध गुरुङले जानकारी दिए । ‘गाउँपालिकाको कार्यालय, हेल्थपोष्ट, वैंक, हाइस्कुल तथा अरु कार्यालय जान आउन पनि सजिलो भएको छ’, स्वास्थ्यकर्मी समेत रहेका उनले भने, ‘मनास्लु जाने पर्यटकको बाटो पनि पर्ने भएकाले फिलिममा आएका पर्यटक अब हाम्रो गाउँसम्म पनि पुग्छन् भन्ने विश्वास छ ।’
सामागाउँसम्मका लागि नेपाली सेनाले निर्माण गरेको सडक पाङसिङ हुदै निर्माण हुदैछ । सो पुल निर्माण भएपछि चुमउपत्यकाका बासिन्दालाई मोटरबाटोसम्म पुग्न पनि सहज हुने वडा अध्यक्ष रामकुमार गुरुङले विश्वास व्यक्त गरेका छन् ।
नेपाल सरकारको झोलुंगेपुल डिभिजन अन्तर्गत दुई करोड ७१ लाख रुपैंयाको लागतमा पुल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्