| शनिबार, बैशाख २५, २०८३

सहिद लखनले बुंकोटको कोटकाली मन्दिरलाई जगेर्नाको काम गर्दै

गोरखाको शहिद लखन गाऊँपाली का ८ बुंकोटको कोटकाली मन्दिरलाई पुरातात्विक सम्पदाको रुपमा विकास गर्न स्थानीय तहले काम थालेको छ । करिब तीनसय वर्ष प्राचीन इतिहास बोकेको सो स्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन विभिन्न अभियान सुरु गरिएको गाऊँ पालीकाले जनाएको छ । ऐतिहासिक स्थल भएकाले त्यसको पुरातात्विक महत्वलाई संरक्षण गर्न पुरातत्व विभागलाई आग्रह गरिएको वडा नं. ८ का ध्यक्ष काशि नाथ अंगाईले बताए । मूल मन्दिर र अन्य सम्पदाको संरक्षणका लागि विभागको ध्यानाकर्षण गराइएको उनको भनाई छ । भूकम्पले भत्किएका केही सम्पदा मर्मतका लागि पुरातत्व विभागले गत आर्थिक वर्ष १० लाख रुपैया विनियोजन गरेको थियो । सो स्थलको प्रवद्र्धनका लागि विस्तृत गुरुयोजना निर्माणको काम चालु आर्थिक वर्षबाटै सुरु हुने गाऊँ पालीका अध्यक्ष रमेश थापामगरले बताए ।

मनकामना, कोटकाली र गोरखकाली मन्दिर जोड्ने गरि पदमार्ग निर्माण लगायतका योजना समेटेर गुरुयोजना निर्माण गर्ने निर्णय भैसकेको उनको भनाई छ । यसबाहेक स्थानीयस्तरमा गठित बुंकोट कोटकाली भूमे मन्दिर सञ्चालन समितिले पनि संरक्षण र प्रवद्र्धनका कामहरु थालेको छ । गत कात्तिकमा समिति गठन गरी संरक्षण र प्रचारप्रसारका लागि संस्थागत प्रयास थालिएको समितिका सचिव नेत्र खनालले बताए । समितिको पहल र पूर्वमन्त्री चिरञ्जिवी वाग्लेको सहयोगमा स्थायी प्रकारको हवन मण्डप निर्माण, हनुमानको मूर्ति स्थापना लगायतको काम गरिएको उहाँको भनाई छ । पूर्वमन्त्री वाग्लेले मन्दिर ब्यवस्थापनका लागि २४ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । कोषको ब्याजबाट प्राप्त हुनेमध्ये ७५ प्रतिशत रकम ब्यवस्थापनका काममा खर्च गरिने वाग्लेले जानकारी दिए ।
बूढीगण्डकी आयोजनाको डुवानमा पर्ने जग्गाको मुआब्जा वापत प्राप्त रकम वाग्लेले अक्षयकोषमा जम्मा गरेका छन् । मुआब्जा वापत अझै १६ लाख ५८ हजार रुपैया प्राप्त हुन बाँकी रहेको र सो रकम पनि अक्षयकोषमै राख्ने योजना रहेको वाग्लेको भनाई छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न मन्दिर नजिकैको हटिया लगायतका गाऊँमा होमस्टे प्रवद्र्धनको काम पनि सुरु गरिएको वडा नम्वर ८ का अध्यक्ष अंगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्