
गोरखाको धार्चेमा तातोपानी मेला सुरु
गोरखाको धार्चे ३ तातोपानीमा तातेपानी मेला २०७५ सुरु भएको छ । गण्डकी प्रदेशका कृषि सहकारी मन्त्री लेखबहादुर थापाले मेलाको उद्घाटन गरेका हुन् ।
मेलाको अवसरमा भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ ।
मेलामा साना र ठूला जनावरको रौंबाट निर्मित बख्खु, निगालोको डोको, डालो, थुन्से, भकारी, मान्द्रो, उनका स्वीटर, झोला लगायतका हस्तकलाका सामग्री बिक्रीमा राखिएका छन् । त्यस्तै तरुल, वन तरुल, मह, भीरमौरीको मह, काउली, मुला लगायतका कृषि उत्पादन, स्थानीय जातका खसीबोका, भेँडा लगायतका पशुचौपाया पनि बिक्रीका लागि राखिएका छन् ।

मेला १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।




