
प्रेमढकाल स्मृति कप फुटबल प्रतियोगिता हुने
दरौंदी : गोरखाको वारपाक सुलिकोट गाऊँपालीकाको सौरपानीमा प्रेम ढकाल स्मृति कप फुटवल प्रतियोगिता हुने भएको छ । १० वर्षे सशस्त्र युद्धका क्रममा २०५६ साल पुस २७ गते नुवाकोटमा ज्यान गुमाएका ढकालको स्मृतिमा फुटवल प्रतियोगिता गर्न लागिएको गाऊँपालीकाले जनाएको छ । स्थानीय गोरखाद्वीप युवा क्लवको सहआयोजनामा पुस २७ गतेबाट प्रतियोगिता हुने मंगलबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी जनाइएको छ । गाउँपालिका भित्रका युवाहरुको खेलप्रतिको आकर्षणलाई सम्बोधन गर्न फुटवल प्रतियोगिता गर्न लागिएको गाऊँपालिका अध्यक्ष विष्णु भट्टले बताए । ढकाल कुशल खेलाडी पनि भएकाले उनको स्मृतिमा प्रतियोगिता गर्ने निर्णय गरिएको भट्टको भनाई छ । प्रतियोगितामा टिम दर्ताका लागि पाँच हजार शुल्क निर्धारण गरिएको बारपाक सुलिकोट ७ का अध्यक्ष कृष्ण गुरुङ ले बताए । पहिलो हुने टिमलाई ३५ हजार रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई २५ हजार र सेमीफाइनल पुग्ने दुई टिमलाई ८÷८ हजार रुपैया पुरस्कार दिइने पत्रकार सम्मेलनमा बताइएको छ । पुस २७ गतेबाट सुरु हुने सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्ने गाऊँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।




