| आइतवार, कार्तिक २२, २०८३

गोरखामै अन्तर्राष्ट्रिय स्तरको फूटबल मैदान बन्ने

गोरखाको दलभन्जयांङमा अन्तराष्ट्रिय स्तरको ७-ए-साईड फुटबल मैदान बन्ने भएको छ । । सबैका लागि फूटबल भन्ने नाराका साथ अघि बढिरहेको द ओसन क्लवले गोरखा नगरपालिका ९, दलभञ्ज्याङमा आधुनिक र सुविधासम्पन्न खेल मैदान बनाउने भएको हो । मैदानमा घाँसजस्तै देखिने कार्पेट(आर्टिफिसियल ट्रफ) बिच्छ्याउने तयारी गरेको क्लवले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सन् २०१९ भित्रै मैदान निर्माण गरिसक्ने गरी काम थालिएको क्लवका अध्यक्ष अमित खत्रीले बताए । क्लवले त्यसका लागि सहयोग रकम संकलन अभियान सुरु गरेको घोषणा पनि गरेको छ । २८ मिटर चौडाई र ५० मिटर लम्बाईको मैदानमा कार्पेट विच्छ्याउन करीव ३० लाख रुपैया खर्च लाग्ने अध्यक्ष खत्रीको भनाई छ । त्यसका लागि पहिलो चरणमा विदेशमा बस्ने गोरखालीहरुबाट अर्थ संकलन सुरु गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
दोस्रो चरणमा जिल्लाभित्रै पनि रकम संकलन अभियान सञ्चालन गरिने अध्यक्ष खत्रीले बताए । सुविधासम्पन्न कृत्रिम मैदान बनेपछि फूटवल प्रशिक्षण गर्न सहज हुने द ओसन क्लवको अपेक्षा छ । सहयोग रकम संकलनका लागि पूर्व राष्ट्रिय फुटवल खेलाडी गोरखा मिरकोटका विकास मल्लसहित सञ्जित श्रेष्ठ, अञ्जन श्रेष्ठ र नविन पाण्डेलाई अभियन्ताको रुपमा चयन गरिएको क्लवले जनाएको छ । मैदान तयार भएपछि दोस्रो चरणमा प्रशिक्षण भवन, जिमहल लगायतका संरचना बनाउने लक्ष्य रहेको क्लवका अध्यक्ष खत्रीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला फूटवल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले फूटवल विकासका लागि ओसन क्लवसँग सहकार्य गर्ने बताए । उनले हरमटारीको खेलकुद मैदानमा पनि कृत्रिम हरियोझार(आर्टिफिसियल ट्रफ) बनाउने आफूहरुको पनि योजना रहेको जानकारी गराए ।
२०६१ सालमा स्थापित क्लवले विशेषगरि बालबालिका र युवाहरुलाई फूटवल प्रशिक्षण दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्