
गोरखाका टीका बोगटीले जिते लाइफटाइम अचिभमेन्ट अवार्ड
गोरखाका म्याराथुन धावक टीकाबहादुर बोगटीलाई गण्डकी प्रदेशको नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेण्ट अर्वार्डबाट सम्मानित गरेको छ । १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा बिहिबार ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरेको हो ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बोगटीलाई अवार्ड प्रदान गरेका हुन् ।
एथलेटिक्सको माध्यमबाट गोरखा जिल्ला, गण्डकी प्रदेश तथा नेपालको गौरवलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा माथि उठाउन ठूलो योगदान पु¥याएको भन्दै मञ्चले अवार्ड प्रदान गरेको हो ।
गोरखा नगरपालिका १ ताप्ले घर भएका बोगटीले बिगत ३० बर्षभन्दा पहिलेदेखि अहोरात्र खटेर यहाँको एथलेटिक्सका क्षेत्रलाई सहयोग गरेकाले अवार्ड प्रदान गरेको मञ्चले जनाएको छ । ६४ बर्षका बोगटीले नेपाली सेनामा सेवारत रहँदा २०४४ सालदेखि अन्तर्राष्ट्रिय स्तरको म्याराथन दौडमा सहभागी भई स्वर्ण, रजत, कास्य लगायतका पुरस्कार जितेका छन् ।
२०५२ सालमा मद्रासमा सम्पन्न दक्षिण एशियाली खेलकुद प्रतियोगितामा म्याराथुनतर्फ स्वर्ण पदक जितेका थिए । त्यसबापत उनले २०५२ सालमै गोरखा दक्षिणबाहु चौथो सम्मानसमेत प्राप्त गरेका थिए ।
त्यस्तै उनले सन् २०४५ को सियोल ओलम्पिक र २०५३ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ट्रयाक सम्हालेका थिए । उनले चौथोदेखि सातौँ दक्षिण एसियाली खेलकुद(साग)मा लगातार नेपालको प्रतिनिधित्व गरेका थिए । उनले २०४८ मा श्रीलंका र २०५० मा बंगलादेश सागमा काश्य पदक जितेका थिए ।




