
महेन्द्र माविमा छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न
गोरखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र माविको सहआयोजना र गोरखा नगरपालिकाको समन्वयमा संचालित कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
विद्यार्थीहरुमा आत्मविश्वास तथा नेतृत्व विकास गर्ने लक्ष्यका साथ फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरेको कल्स ओवर रिजेज नेपालका राजेश श्रेष्ठले बताए । गत बिहीबारबाट सुरु भएको प्रतियोगिता सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको उनले जानकारी दिए । कार्यक्रममार्फत छात्राहरूलाई कक्षाकोठा भन्दा बाहिरको सिकाइमा पनि सशक्त बनाउने र खेल मैदानमा मात्र नभई जीवनका हरेक क्षेत्रमा नेतृत्व लिन प्रेरित गर्ने विश्वास लिइएको उनको भनाइ छ ।
फुटबल प्रशिक्षण कार्यक्रममा महेन्द्र माविका ३० जना छात्राहरूले सहभागिता जनाएका थिए । सहभागिहरुलाई सोमबार गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना र वडा नं १२ का वडा अध्यक्ष डिल बहादुर थापाले प्रमाणपत्र वितरण गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




