| मङ्लबार, बैशाख १४, २०८३

मनकामना–गोरखा दरबार म्याराथन दौडको उपाधि तनहुँका सनम गुरुङलाई

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पारेका छन् । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो ।

मनकामनादेखि गोरखा दरवारसम्मको ४२.१९५ किलोमिटर दौडमा प्रथम बनेका गुरुङले नगद रु ५५ हजार प्राप्त गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । गुरुङले दुईघण्टा ५९ सेकेण्डमा उक्त दौड पूरा गरेका थिए ।
उक्त दौड मनकामना मन्दिरदेखि ताक्लुङ–तीनमाने–घैरुङ–नाम्जुङ–काउलेभंगार–बुंकोट–ढुङ्गागाढे–आहाले भञ्ज्याङ–बराह मन्दिर–हस्पिटल चोक–हरमटारी –बसपार्क–विपी चौतारा–ठुलोआँगन–सतिपिपल–गैरीकुवा–हनुमानथान (गोरखाकाली मन्दिर) पुगेर टुङ्गिएको थियो ।

महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम बनेकी छिन् । चारघण्टा ५१ सेकेण्डमा दौड पूरा गरेकी गुरुङले पनि रु ५५ हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पुरुषतर्फको प्रतियोगितामा कास्कीका सफल लामा दोस्रो तथा कास्कीकै चेतनाथ चालिसे तेस्रो बनेका छन् । क्रमश तीनघण्टा १० मिनेट र तीनघण्टा २८ मिनेटमा दौड पूरा गरेका उनीहरुले नगद रु ३० हजार र २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना बनेका पर्वतका सन्तोष परियार र गोरखाका अन्जन पौडेलले जनही रु ५–५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकको भनाई छ ।

मनकामनादेखि गोरखा दरवारसम्मको ४२.१९५ किलोमिटर दौडमा महिलातर्फ तनहुँकी बिबिका लामा तेस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो र नवलपुरकै सूर्यकुमारी महतो सान्त्वना बनेकी छिन् । उनीहरुले क्रमश रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेको खेलकुद बिकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ ।

यसैगरि मनकामनादेखि तीनमाने सम्मको १० किलोमिटर दौडमा महिलातर्फ नवलपुरकी प्रकृति लुङ्गेली प्रथम, कास्की साधना परियार द्धितिय र तनहुँकी नम्रता गुरुङ तृतीय बनेकी छिन् । पुरुषतर्फ कास्कीका बादल कार्की प्रथम, तनहुँका आदित्य जेसी द्धितिय र गोरखाका सबिन सापकोटा तृतीय भएका छन् । महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष तामाङले बताउनुहुन्छ ।

मनकामनादेखि जुम्ली चौतारासम्मको ५ किलोमिटर दौडमा पुरुषतर्फ गोरखाका सरोज गिरी प्रथम, तनहुँका कमल बिक द्धितिय र म्याग्दीका सक्षम बोहोरा तृतीय भएका छन् । महिलातर्फ ५ किलोमिटरदौडमा तनहुँकी मनकुमारी लामा प्रथम, पर्वतकी सिम्रन थापा द्धितिय र स्याङ्जाकी बिमला माया मान्नधर तृतीय भएकी छिन् । महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमशः रु १५ हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेल क्षेत्र मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ । प्रतियोगितामा सहभागीहरुलाई यातायातसहित खान र बस्ने व्यवस्था आयोजकले नै गरेको थियो ।

प्रदेश स्तरीय उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीहरुले सहभागीता जनाएका थिए । जसमा गण्डकी प्रदेशभित्रका ११ जिल्लाबाट एक जना पुरुष र एक जना महिलाका दरले सहभागीता जनाएको तामाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्