
महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु
गोखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र माविको सहआयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा बिहीबारबाट कार्यक्रम सुरु भएको हो ।
विद्यार्थीहरुमा आत्मविश्वास तथा नेतृत्व विकास गर्ने लक्ष्यका साथ फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरेको कल्स ओवर रिजेज नेपालका राजेश श्रेष्ठले बताए । बिहीबार महेन्द्र माविको खेल मैदानमा एक समारोहका बीच कार्यक्रमको विधिवत समुद्घाटन भएको उनले जानकारी दिए । कार्यक्रममार्फत छात्राहरूलाई कक्षाकोठा भन्दा बाहिरको सिकाइमा पनि सशक्त बनाउने र खेल मैदानमा मात्र नभई जीवनका हरेक क्षेत्रमा नेतृत्व लिन प्रेरित गर्ने विश्वास लिइएको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्धघाटन कार्यक्रममा गोनपा १२ का वडा अध्यक्ष, पूर्व विव्यस अध्यक्ष, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।




