| शुक्रबार, साउन २१, २०८३

चारतले घर गुमाएका गुरुङ परिवारलाई सहयोग जुट्दै

गत सोमबारको पहिरोमा चारतले पक्की घर गुमाएका गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका मानसिँह गुरुङ परिबारलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । बिहिबार गोरखा उद्योग वाणिज्य संघले गुरुङ परिवारलाई निवासमै भेटेर ५५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष भगवानबाबु मास्केले पीडित गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै लायन्स क्लव अफ गोरखाले पनि गुरुङ परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष शरदबाबु श्रेष्ठको नेतृत्वमा निवासमै पुगेर क्लवले ३१ हजार १३६ रुपैयाँ हस्तान्तरण गरेको हो । ज्ञानवाग विद्यालयले पनि गुरुङ परिवारलाई २० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल चुडामणि काप्रीले गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

गोरखा नगरपालिका ९ का वडाअध्यक्ष कुलबहादुर कुँवर(कुमार)ले राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
पहिरोमा घर गुमाएका गुरुङको परिबारलाई तत्काल बसोबासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेको सहयोगदाताहरुले बताएका छन् ।

लगातारको झरीपछि गत सोमबार विहान ११ बजे उनको तीनतले पक्की घर पहिरोमा बगेको थियो । पीडित परिबार अहिले गुरुङ समाजले व्यवस्था गरेको छिमेकीको घरमा दुईवटा कोठा भाडामा लिएर बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्