| मङ्लबार, बैशाख ७, २०८३

पानपा मेयर कपको उपाधी वडा नम्वर ७ लाई

पालुङटार नगरपालिकामा सम्पन्न मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ७ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं. ४ लाई २–१ को गोलअन्तरले पराजित गर्दै वडा नम्वर ७ उपाधी बिजेता बनेको हो ।

प्रतियोगिताको उपाधी बिजेता टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । उपबिजेता टिमले ४० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनको बताए ।

प्रतियोगितामा बिजेता टिमका सञ्जय श्रेष्ठ सर्वोत्कृष्ट गोलकर्ता बनेका छन् । उपबिजेता टिमका निखिल सुनार उत्कृष्ट खेलाडी र नबिन सुनार उत्कृष्ट डिफेन्डर बनेको उनले बताए । वडा नं. १ का सुदिप श्रेत्री उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । उनीहरुले जनही १० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको बिसीको भनाई छ ।

बैशाख ४ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाका ९ वटा वडाको सहभागीता रहेको थियो । प्रतिकूल मौसमका कारण स्थागित भएको आइतवारको फाइनल खेल सोमवार सम्पन्न भएको हो । बिजेता टिम र खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ । नगरपालिकाका मेयर विवश चिन्तनको अध्यक्षतामा भएको समापन कार्यम्रममा उपमेयर बन्दना पाण्डे, प्रमुख प्रशासकिय अधिकृतलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्