| शुक्रबार, बैशाख ३, २०८३

दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखमा अन्तरपालिकास्तरीय दोस्रो उप–मेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा जिल्लाका ५ वटा स्थानीय तहका खेलाडीहरु र गोरखा नगरपालिकाको भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिका गरी ६ टिमको सहभागिता रहेको गोनपाका खेल संयोजक एवं वडा नं १० का वडाअध्यक्ष प्रदिप कुँवरले बताए । संयोजक कँुवरका अनुसार आरुघाट, अजिरकोट, सहिद लखन, बारपाक सुलिकोट र गोरखा नगरपालिकाले प्रतियोगितामा सहभागिता जनाएको छ ।

लिग चरणमा भएको प्रतियोगिताको पहिलो दिन २ खेल सम्पन्न भएको संयोजक कुँवरले जानकारी दिए । पहिलो उद्घाटन खेल गोरखा नगरपालिका र भगिनी सम्बन्ध भएको नीलकण्ठ नगरपालिकाबीच भएको थियो । उक्त खेलमा ३–० को सोझो सेटमा नीलकण्ठ बिजयी बनेको छ । शहिद लखन र अजिरकोट गाउँपालिकाबीच भएको दोस्रो खेलमा शहिद लखन बिजयी बनेको कुँवरले बताए । उनका अनुसार आज दोस्रो दिन ४ खेल हुनेछ ।

दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एकलाख ३४ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने पालिकाहरुले क्रमश रु ६८ हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक कुँवरले बताए ।

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको अध्यक्षता तथा मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुसलीबहादुर श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, खेलकुद बिकास समितिका अध्यक्ष प्रेम तामाङ र पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतले मन्तव्य राखेका थिए । प्रतियोगिता बैशाख ५ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्