
ओसन कप यु–१३ को आजबाट सेमिफाइनल खेल सुरु
एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता अन्तरगतका सेमिफाइनल खेलहरु आज हुदैछ । पहिलो खेल नारायणगढ फुटवल क्लब र स्टार स्पोर्टस क्लबबीच हुने आयोजक द ओसन क्लबले जनाएको छ । दोस्रो खेल कटारी टाइगर र नवजागृती युवा क्लबबीच हुने क्लबका अध्यक्ष अमित खत्रीले बताए ।
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी प्रतियोगिता अन्तरगत सोमवार नौ खेल सम्पन्न भएको थियो । छात्रतर्फ सात र छात्रातर्फ दुई खेल सम्पन्न भएको खत्रीले जानकारी दिए । उनका अनुसार छात्रातर्फ भने पहिलो खेल ओसन क्लब र हिल्ली फल्डर्सबीच हुने छ । दोस्रो खेलमा ट्रिनिटि क्लब र एम्बेस्डर फुटवल क्लब भिड्ने बताइएको छ ।
यही चैत २७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल पनि आजै सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्रतर्फ प्रथम हुने टिमले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले रु १५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
छात्रातर्फ भने पहिलो र दोस्रो हुनेले क्रमश नगद १५ हजार र ७ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले क्लबले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुका लागी पुरस्कारको व्यवस्था गरिएको छ । छात्रतर्फ १२ टिमको सहभागीता रहेको छ भने छात्रातर्फ ४ टिम सहभागी छन् । गोरखा नगरपालिकाको ‘गोरखा मेयर युवा फुटवल बिकास परियोजना’अन्तरगत क्बलले बर्षेनी प्रतियोगिता गर्दै आएको छ ।




