
दोस्रो गोरखा जेसीज फुटसलको उपाधी शुक्लागण्डकीलाई
गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा सम्पन्न दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिताको उपाधी तनहुँको शुक्लागण्डकी जेसीस ‘बि’ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा ४–२ गोल अन्तरले गोरखा जेसीजलाई पराजित गर्दै शुक्लागण्डकी उपाधी बिजेता बनेको हो ।
बिजेता टिमले ५५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता गोरखा जेसीजले ३५ हजार नगद पुरस्कार प्राप्त गरेको गोरखा जेसीजका महासचिव बुद्धी जोगीले बताए । प्रतियोगितामा गोरखा जेसीजका जमिर मास्के उकृष्ट खेलाडी घोषित भएका छन् । शुक्लागण्डकी जेसीज टिम ‘बी’ का विशाल अधिकारी उच्च गोलकर्ता र बालकृष्ण भुजेल उत्कृष्ट गोलरक्षक घोषित भएको जोगीले जानकारी दिए । उनीहरुले जनही दुई हजार नगद पुरस्कार पाएका छन् ।
यसैगरि व्यास नगर जेसिजले फेयर प्ले अर्वाड प्राप्त गरेको छ । पोखरा जेसीज अनुशासित टिम घोषित भएको छ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो । गत वर्षबाट सुरु भएको यस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठले बताए । प्रतियोगिताले युवा नेतृत्वको विकाससँगै समुदाय निमार्णमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाकी उप्रमुख मसलीमाया थोकर, नेपाल जेसीज २०२६ का राष्ट्रिय उपाध्यक्ष (एरिया बी) आर्योग्य श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक समिर कुँवरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।




