
गोनपा ७ को वडा कप उपाधि आयोजक क्लवलाई
गोरखा नगरपालिका–७ मा संचालित प्रथम वडा कप खुल्ला फुटवल प्रतियोगिताको उपाधि आयोजक यूनाइटेड सेभेन यूथ क्लवले हात पारेको छ । गत बिहीबार भएको फाइनल खेलमा घलाङ एकता क्लवलाई हराउँदै यूनाइटेड उपाधि विजेता बनेको हो ।
विजेता क्लवले नगद रु ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष श्याम आलेले बताए । उपविजेता घलाङ एकता क्लवले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए । गोरखा नगरपालिका वडा नं ७ स्थित बेलडाँडा खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए ।
त्यस्तै भेटेरान्सतर्फको खेलमा सेभेन स्टार डुम्रे प्रथम भएको छ भने गोरखा–खैरेनी टिम दोस्रो बनेको छ । प्रथम र दोस्रो हुनेले क्रमश खसी र दुईवटा लोकल भाले पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै महिलातर्फको फुटवल खेलमा हिल्ली फिल्डरर्स क्लव प्रथम भएको छ । गोरखा ओमन्स क्लव दोस्रो भएको आयोजकले जनाएको छ । उनीहरुले क्रमश ८ हजार र ६ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सवै विधाका खेलमा सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको थियो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।




