| आइतवार, कार्तिक २२, २०८३

तेस्रो पटक पनि अनिश नै लिगलिगे राजा

अनुपमा खनाल ः पर्वत जिल्ला घर भई हाल भारतीय सेनामा कार्यरत अनिश थापा नवौं लिगलिगे राजा भएका छन् । यसअघि दुईपटकसम्म राजा बनेको बिरासत थाम्दै थापा यसपटक पनि लिगलिगे राजा बनेका हुन् ।
तत्कालीन राजा द्रव्य शाह दौडेर राजा भएको चारसय बर्ष पुरानो इतिहासको सम्झना गराउन लिगलिगकोट विकास अभियानले दौड आयोजना गरेको थियो । चेपे र मस्र्याङ्दीको दोभानदेखि लिगलिग कोट सम्मको १३.५ किलोमिटर दुरी ५८.२५ मिनेटमा पार गर्दै थापा एकबर्षका लागि लिगलिगे राजा भएका हुन् । उनले थापाले प्रतिष्पर्धी १२२ जनालाई पछि पार्दै नवौं लिगलिगे राजा बन्न सफल भएका हुन् ।
थापालाई एक समारोहका बीच पर्यटन मन्त्री रविन्द्र अधिकारी, सांसद चुडामणि खड्का, प्रदेश सांसद हरिशरण आचार्यले तथा पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले श्रीपेच पहि¥याई सम्मान गरेका छन् । साथै पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ । विजेता थापाले ६० हजार रुपियाँ नगद पुरस्कार समेत हात पारेका छन् ।
अनिश यसअघि दुईपटकसम्म लिगलिगे राजा बनेका थिए । २०७१ सालमा र २०७३ सालमा पनि लिगलिगे राजाको श्रीपेच पहिरिएका थिए ।
त्यस्तै निर्धारित दुरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो र ५९.२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्न सफल भएका छन् । दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाएका छन् ।
त्यस्तै भेट्रानतर्फको दौडमा किर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र चर्चित म्याराथुन धावक बैकुण्ठ मानन्धर तेस्रो भएका स्थानीय सुर्य क्षेत्रीले जानकारी दिए । स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल नेपाली पहिलो, हर्मीकै सुर्य अधिकारी दोस्रो र खोप्लाङका दिपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद २० हजार ५, १२ हजार ५ र ७ हजार ५ रुपैया पुरस्कार सहित ट्रफि र मेडल पुरस्कार पाएका छन् । त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, सानुमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश २० हजार ५ , १२ हजार ५ र ७ हजार ५ रुपैया पुरस्कार सहित ट्रफि र मेडल पाएका छन् । प्रतियोगीता अन्तरगत नै स्थानीय छात्रछात्राका लागि करीब ३ किलोमिटर दौड भएको थियो । बोहरागाउँबाट लिगलिगकोटसम्म भएको प्रतियोगीतामा छात्रतर्फ पुर्ण तामाङ पहिलो, सुनिल बसेल दोस्रो र सुशिल न्यौपाने तेस्रो भएका छन् । छात्रातर्फ सुनिता गिरी पहिलो, रजिना जोशी दोस्रो र निता देवकोटा तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने छात्रछात्राले क्रमश ५ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैया पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । चारसय वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परा लाई जगाइराख्न लिगलिगे दौड गरिएको अभियानले जनाएको छ ।
लिगलिगकोटमा बि.सं. १६०४ सालदेखि दौडेर प्रथम हुनेले राज्य चलाउने परम्परा थियो ।
बिसं. १६१६ सालमा लम्जुङका राजकुमार द्रव्य शाहले दौड जितेर राजा बनेपछि यो परम्पराको अन्त्य भएको थियो । दौडेर लिगलिगे राजा हुने चारसय बर्ष पुरानो परम्परालाई जगाइराख्न २०६७ सालदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्