| बुधबार, असार ९, २०८३

पालुङटारको राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योतिको पोल्टामा

पालुङटार नगरपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योति जनता माविले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा शनिबार, आइतबार र सोमबार सञ्चालित प्रतियोगितामा २१ पदक जित्दै अमरज्योती जनता मावि विजयी भएको हो ।

विभिन्न २८ विधामा भएको खेलमा १० स्वर्ण, ३ रजत र ८ कास्य गरी २१ पदक जित्दै अमरज्योति जनता मावि विजयी भएको पालिकाको शिक्षा शाखा प्रमुख मनोज सिर्मलले बताए । बिजेता अमरज्योति माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा जनता मावि आँपपिपलले दोस्रो स्थान हाँसिल गरेको छ । ७ स्वर्ण, ५ रजत र ३ कास्य गरी १५ पदक जितेर सो विद्यालय दोस्रो हुन सफल भएको हो । त्यस्तै रजगरे माविले तेस्रो स्थान हात पारेको छ । ७ स्वर्ण र ३ रजत गरी ५ पदक जितेर रजगरे मावि तेस्रो बनेको पालिकाले जनाएको छ ।

पालुङटार नगरपालिका वडा नं ५ स्थित भवानी माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका १६ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका शिक्षा शाखा प्रमुख मनोज सिर्मलले बताएका छन् । विजेता विद्यालयहरुलाई सोमबार एक कार्यक्रमका बीच पुरस्कार तथा पदक वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्