
सहिद लखन थापास्तरीय राष्ट्रपति रनिङशिल्ड तेस्रो पटक पनि रामेश्वरी माविलाई
लगालग तीनपटक शिल्ड जितेपछि सहिदलखन गाउँपालिकास्तरीय प्रथमसहिद लखन थापा मगर स्मृति राष्ट्रपति रनिङशिल्ड रामेश्वरी मावि बुंकोटले प्राप्त गरेको छ । तीनपटक जित्नेले शिल्ड पाउने व्यवस्था अनुसार सो विद्यालयले शिल्ड हात पारेको हो ।पालिकाको शिक्षा शाखाको आयोजनामा यही सोमबार मंगलबार र बुधबार सञ्चालित प्रतियोगिता १३ पदक जित्दै रामेश्वरी माविले शिल्ड जितेको हो ।
विभिन्न २८ विधामा भएको खेलमा ८ स्वर्ण, ३ रजत र २ कास्य गरी १३ पदक जित्दै रामेश्वरी माविले शिल्ड हात पारेको हो । विजेता रामेश्वरी माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा जलदेवी मावि ताक्लुङले दोस्रो स्थान हाँसिल गरेको छ । ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक जितेर सो विद्यालय दोस्रो हुन सफल भएको हो ।
त्यस्तै जनशक्ति मावि नाम्जुङले तेस्रो स्थान हात पारेको छ । ५ स्वर्ण र २ रजत गरी ७ पदक जितेर जनशक्ति मावि तेस्रो बनेको हो । बुंकोटस्थित शहिदस्मृति माविले सान्त्वना स्थान हासिल गरेको छ । ४ स्वर्ण ६ रजत र ११ कास्य गरी २१ पदक जितेर सहिदस्मृति माविले सान्त्वना स्थान पक्का गरेको हो ।
सहिद लखन गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए । विजेता विद्यालयहरुलाई बुधबार एक कार्यक्रमका बीच पुरस्कार तथा पदक वितरण गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा सम्पन्न समारोहमा अध्यक्ष तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विजयी विद्यालयहरुलाई पदक तथा पुरस्कार प्रदान गरेका थिए ।




