
अन्तर बिद्यालय लिग फुटवल अन्तरगत सात खेल सम्पन्न
गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार सात खेल सम्पन्न भएको छ । छात्रतर्फ चार र छात्रातर्फ तीन खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले जनाएको छ ।
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको छात्रतर्फको पहिलो खेल शक्ति मावि र हिल्ली फिल्डर्स गोरखा एफ सि बीच भएको थियो । उक्त खेलमा २–१ को गोल अन्तरले शक्ति मावि बिजयी भएको छ । लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र रत्नलक्ष्मी मावि डुम्रीडाँडाबीच भएको दोस्रो खेलमा ७–० को फराकिलो गोल अन्तरले लक्ष्मी सामुदायिक बिजयी बनेको छ ।
तेस्रो खेलमा नवज्योति मावि डण्डिडाँडालाई ३–० को गोल अन्तरले हराउँदै द ओल्ड क्यापिटल मावि बिजयी भएको छ । चौथो खेल महालक्ष्मी मावि लक्ष्मीबजार र सरस्वती मावि आहालेबीच भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले महालक्ष्मी मावि बिजयी बनेको आयोजकले जनाएको छ ।
छात्रातर्फको पहिलो खेल हिल्ली फिल्डर्स गोरखा एफ सि र रत्नलक्ष्मी मावि डुम्रिडाँडाबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको छ । महालक्ष्मी मावि र लक्ष्मी सामुदायिक शिक्षा सदनबीच भएको दोस्रो खेलमा ५–० को गोल अन्तरले महालक्ष्मी मावि बिजयी भएको छ । तेस्रो खेलमा सरस्वती माविलाई ५–० को फराकिलो गोल अन्तरले पछि पार्दै द ओल्ड क्यापिटल मावि बिजयी भएको आयोजक क्लबले जनाएको छ । साताको प्रत्येक शनिवार खेलहरु हुने बताइएको छ । प्रतियोगितामा बिजेता र उपबिजेता टिमले ट्रफि र मेडलको साथमा प्रमाणपत्र पाउने छन् । बिजेता टिमले ओसन कप यू–१३ राष्ट्रिय फुटवल प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने बताइएको छ ।




