| सोमवार, साउन २४, २०८३

तीन पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नभिमसेनथापाको उपाधी नवजागृती चण्डीलाई, अजिरकोटको ज्ञानज्योतिलाई

जिल्लाका तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएका छन् । गण्डकी, भिमसेनथापा र अजिरकोट गाउँपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएका पालिकाहरुले जनाएका छन् ।
गण्डकी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड फुजेलको भैरवाश्रम माविले हात पारेको छ ।

भीमसेन थापा गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि अश्राङस्थित नवजागृती चण्डी माविले जितेको पालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।
पालिकाको शिक्षा शाखाको आयोजनामा गत बुधबार, बिहिबार र शुक्रबार प्रतियोगिता संचालन भएको थियो ।
विभिन्न विधामा भएको खेलमा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै नवजागृती चण्डीले शिल्ड हात पारेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । विजेता नवजागृती चण्डीले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ६ स्वर्ण र २ रजत पदक जितेर बोर्लाङस्थित जागेश्वर मावि दोस्रो र ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर तान्द्राङस्थित संस्कृत मावि तेस्रो बनेको छ । ४ स्वर्णसहित ६ रजत र ३ कास्य जितेर धावाको प्रभात मावि चौँथो बनेको पालिकाको खेलकुद विकास समिति संयोजक निराजन श्रेष्ठले बताए । प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका उनले जानकारी दिए ।

पालिकाको खेलकुद विकास समिति संयोजक निराजन श्रेष्ठको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा, उपाध्यक्ष अमृतादेवी वस्ती, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङ, शिक्षा शाखा प्रमुख यानबहादुर नेपाली लगायतले सो अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, अजिरकोट गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योति माविले हात पारेको छ । विभिन्न विधामा भएका खेलमा ७ स्वर्ण, ९ रजत र ५ कास्य पदक जित्दै ज्ञानज्योति माविले शिल्ड जितेको हो । विजेता ज्ञानज्योतिले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ६ कास्य पदक जितेर घ्याच्चोकका धनसिरा मावि दोस्रो र ४ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेर खरिबोटको प्रभा मावि तेस्रो बनेको छ । ४ स्वर्णसहित ३ रजत र ३ कास्य जितेर सिम्जुङको हिमालय मावि चौँथो बनेको पालिकाको शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताए ।

प्रतियोगितामा पालिका भित्रका ९ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उनले जानकारी दिए ।
पालिकाको शिक्षा शाखाको आयोजनामा यही बुधबार, बिहीबार र शुक्रबार संचालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १४ विधाका खेलमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्