
लिगलिगे दौड अचानोमा नपारौँ
सत्रौं सताव्दीमा सबैतिर राजाको छोरो राजा हुने परम्परा विद्यमान थियो । तर लिगलिगकोटमा फरक परम्परा थियो । त्यहाँ हरेक बर्ष बडादशैंको टीकाको दिनमा चेपेघाटदेखि लिगलिगकोटको २४ किलोमिटर दौड जितेर लिगलिगकोटको राजा हुने प्रचलन थियो । राजाको छोरो राजा हुने तत्कालीन युगमा त्यहाँ भने प्रतिस्पर्धा गरेर जित्ने मान्छे राजा हुने परम्परा थियो । यसलाई विश्लेषकहरु गणतन्त्रको प्रारुप पनि भन्ने गर्दछन् ।
बि.सं. १६०४ देखि १६१५ सम्म लिगलिगकोटमा राज गरिरहेका दलसुर घलेलाई दौडमा पराजित गरी लम्जुङका राजकुमार द्रव्यशाह राजा भए । उनले १६१६ भदौ २५ मा गोरखा जिते र गोरखाको राजा बने, जसलाई नेपालको शाहवंशीय राजतन्त्रको जग भन्ने गरिन्छ ।
इतिहासको गणतान्त्रिक अभ्यास नयाँ पिँडीलाई पनि स्मरण गराउन २०६७ सालदेखि पुनःलिगलिगे दौड आरम्भ गरियो । त्यतिबेला मुलुकमा गणतन्त्र आइसकेको थियो, तैपनि दौड जित्नेलाई एकदिने लिगलिगे राजाको संज्ञा दिई सम्मान गर्ने गरियो ।
लिगलिगे दौड लिगलिगकोट विकास अभियानले सञ्चालन गर्ने गरेको थियो । सो अभियानले १३ बर्षसम्म निरन्तरता दियो । तर गत बर्षदेखि लिगलिगे दौड एकाएक बन्द भएको छ । दौडको आयोजना कसले गर्ने भन्ने विषयमा विवाद उब्जेपछि क्रमभंग भएको हो ।
शून्यदेखि उठाएर देश, विदेशमा समेत परिचित गराएकाले सो दौड आफूहरुले नै गर्न पाउनु पर्ने अभियानको दाबी छ । आफूहरुको पहलमा लिगलिगे दौडको कार्यक्रमलाई नेपाल सरकारको रातो किताबमा समेत पार्न सफल भएकाले यसको स्वामित्व आफूहरुसंग हुनुपर्ने अभियानको दाबी छ ।
तर स्थानीय सरकारले आयोजना गर्न पाउनु पर्ने पालुङ्टार नगरपालिकाको जिकिर छ । स्थानीय सरकारले नगरेको खण्डमा मात्र संघसंस्थाले गर्न पाउने भन्दै नगरपालिकाको नेतृत्वले सो दौड आफूले गर्न नपाए संघसंस्थालाई आयोजना गर्न नदिने भन्दै अनुमति रोक्का गरिदिएको छ ।
नगरपालिकाको नेतृत्व र लिगलिगकोट विकास अभियानको नेतृत्वमा फरक–फरक पार्टीका रहेका छन् । रुपमा जे भए पनि विवादको जरो यहीँ छ ।
सयौंको संख्यामा देशी, विदेशी धावक सहभागी हुने सो ऐतहासिक दौड रोकिनु दुखद छ । आपसी स्वार्थ टकराउँदा ऐतिहासिक दौड रोकिनु दुखद छ । यसलाई दोहोरो चेपुवामा नपारौँ ।




