
गोर्खालीलाई सितोरियो कराते चिनाउने ग्याम्जो लामा: जीवनभर संघर्ष गरे, रित्तो हात बिदा भए
गत वुधवार अलि भावुक मुद्रामा देखिन्थे उनी । करातेको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनका लागि सम्मान कार्यक्रम राखिएको थियो । करिव तीस बर्षको कराते प्रशिक्षकको यात्रालाई बिट मार्दै गर्दा उनका आखाहरु रसाएका थिए । सम्हालिदै उनले सम्मान ग्रहण गरे ।
करिव २०५० सालदेखि गोरखामा सितोरियो कराते प्रशिक्षकको रुपमा काम गर्दै आएका उनी ‘घ्याच्चो गुरु’ नामले परिचित छन् । तर, उनको वास्तविक नाम भने ग्याम्जो लामा हो । २०२४ सालमा चितवनमा जन्मेका उनको बाल्यकाल अरुको जस्तो खुशी र यादगार भएन । सानै उमेरदेखि नै संघर्षको यात्रामा होमिए । १२ बर्षको कलिलो उमेरमा काठमाडौं छिरे, अनि गलैचा बुन्ने काममा लागे । ‘घरमा थाहा नदिई चितवनबाट सिधै काठमाडौंको बस चढे,’ उनले भने, ‘कलंकी ओराल्दियो, त्यहाँबाट सोध्दै बौद्ध पुगे ।’ बौद्धमा चिनेका एक जना दाईसँग उनको भेट भयो । उनलै गलैचा बुन्ने काम लगाइदिए ।
‘मार्सल आर्ट’ सिक्ने सानै देखिको रहरलाई पनि पूरा गर्न चाहन्थे उनी । तर त्यो बेला खुलमखुल्ला सिक्न र सिकाउन पाइदैनथ्यो । राज्यले प्रतिवन्ध लगाएको थियो । वनकालीमा लुकुछिपी कराते सिकाउछ भन्ने उनले सुइको पाए । दिनभर काम अनि साँझ कराते सिक्न उनी वनकाली जान थाले ।
उनले प्रशिक्षण लिएको वादरियो कराते थियो । मानबहादुर ग्यावा तामाङ उनका पहिलो गुरु थिए । केही बर्ष सिकेपछि उनी सितोरियो करातेतर्फ आकर्षित भए । अनि बौद्धमै सितोरियो करातेमा जोडिए ।
चार बर्ष सितोरियो कराते सिकेपछि उनले ब्राउन बेल्ट पाए । ‘त्यो बेला ब्ल्याक बेल्ट दिने अथोरिटी नेपाललाई थिएन, जापानले दिनुपथ्र्याे,’ उनले भने, ‘पछि नेपालबाटै दिन मिल्ने भएपछि २०५० सालमा मैले ब्ल्याक बेल्ट लिए ।’ २०४६ सालमा बहुदल आएपछि मार्सल आर्ट खुल्ला रुपमा सिकाउन थालिएको उनको भनाइ छ ।
ब्ल्याक बेल्ट पाएलगतै प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदले करारमा उनलाई गोरखा खटायो । प्रशिक्षार्थी नभएपछि गोरखा आएको एक महिनामै उनी काठमाडौं फर्किए । ‘पहिलो पटक गोरखा आउँदा घरहरु पनि धेरै थिएन, सिक्ने मान्छे पनि भएनन् अनि काठमाडौं नै फर्किए,’ उनले भने । दुई बर्ष काठमाडौंमा थप ट्रेनिङ गरे अनि पुनः २०५२ सालमा गोरखा फर्किए, प्रशिक्षककै रुपमा ।
सुरुमा उनी आफू एक्लै बिहान बेलुकी ट्रेनिङ गर्थे । प्रशिक्षार्थी थिएनन् । उनले गरेको ट्रेनिङ हेर्न केही मान्छेहरु जम्मा हुन थाले । अनि क्रमश प्रशिक्षणका लागि इच्छा देखाए । ‘मैले ट्रेनिङ गरेको देखेपछि केही मान्छेहरु हाम्रो छोराछोरीलाई पनि सिकाइदिनुप¥यो भनेर आउन थाले,’ उनले भने । क्रमश प्रशिक्षार्थीहरु जोडिने क्रम बढ्दै गयो ।
२०५७/५८ पछि देशमा तत्कालिन बिद्रोही पक्ष र राज्यपक्षबीच द्धन्द्ध चर्कियो । संकटकाल घोषणा भयो । सोही समयमा तत्कालिन जिविस सभापति चेतमान श्रेष्ठले जौवारीको बिद्यालयमा प्रशिक्षण दिन भनेर लामालाई खटाए । ‘द्धन्द्धको समय थियो, गाउँमा गएर कराते सिकाउने कुरा त्यति सहज थिएन,’ उनले भने, ‘अव जाम भने मरिन्छ की भन्ने डर, नजाम भने गुजारा चलाउने बाटो नै यही थियो । बढो दोधारका साथ त्यहाँ गएर एक बर्ष कराते सिकाए ।’ सो क्रममा प्रहरी र माओवादी पक्षबाट झेल्नुपरेको दुःख उनको मस्तिष्कमा अझै ताजै छन् ।
उनले निशुल्क प्रशिक्षण दिन्थे । तलवको नाममा मासिक १२ सय सरकारले दिन्थ्यो । तर महिनौसम्म तलव आउदैनथ्यो । घरखर्च चलाउनै मुश्किल पथ्र्याे । आफूले पाउने तलव किर्ते हस्ताक्षर गरेर अरुले खाइदिएको तितो अनुभव समेत उनीसँग छ । ‘एक बर्षको तलव नआएपछि काठमाडौै गएर बुझ्दा नौ महिनाको मेरो तलव त किर्ते हस्ताक्षर गरेर अर्काेले खाइदिएको रहेछ,’ अचम्मित हुदैँ उनले भने । बाँकी तीन महिनाको तलव मात्र लिएर उनी गोरखा फर्किए ।
गोरखा बसाईमा उनका थुप्रै तिता अनुभवहरु छन् । केही समूहले उनीमाथि कुटपिटको प्रयास समेत गरे । केही खुलेरै विपक्षमा लागे । बाहिरको मान्छे भन्दै गोरखाबाट लखेट्न खोजे । तर उनी निरन्तर आफ्नो काममा खटिरहे । करिव तीस बर्ष जिल्लाको बिभिन्न ठाउँमा सितोरियो कराते सिकाउँदै हिडे । गोरखा र गोर्खालीलाई सितोरियो कराते चिनाए । जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन उनी सफल छन् । ‘घ्याच्चो गुरु’ भनेर नचिन्ने जिल्लामा बिरलै होलान् ।
उनले सिकाएका प्रशिक्षार्थीमध्ये अधिकांश नेपाली सेना र नेपाल प्रहरीमा भर्ना भएका छन् । ब्रिटिस र सिंगापुर लाहुेरे हुने पनि उत्तिकै छन् । केही खेल क्षेत्रमै पहिचान बनाएर बसेका छन् । उनका प्रशिक्षार्थीहरुले जिल्लादेखि अन्तराष्ट्रिय स्तरसम्मका खेलमा सहभागी भएर पदकहरु समेत जितिसके । प्रशिक्षक लामा त्यो कुरामा गर्व गर्छन् ।
तीस बर्षदेखि प्रशिक्षकको रुपमा गोरखा रहँदा सम्मानका केही प्रमाणपत्र र आत्मसन्तुष्टीलाई नै उनले उपलब्धी ठानेका छन् । आर्थिक हिसावमा भने उनले फड्को मार्न सकेनन् । बर्षाैअघिदेखि चढेको बाइक पुरानो भइसक्दा समेत फेर्न नसकेको उनी सुनाउछन् । जमाना अनुसारको नयाँ मोवाइल बोक्ने उनको रहर पनि अपुरै छ । २०५२ सालदेखि कोठा भाडामा बस्दै आएका उनी अहिले पनि भाडामै बस्छन् ।
जागिर अवधिभर कही कतै घडेरीको सानो टुक्रो समेत जोड्न नसकेकोमा उनी कहिलेकाही चिन्ता व्यक्त गर्छन् । ‘लोभ गरेको भए त मैले पनि पैसा राम्रै कमाउथे तर मैले मेरो आफ्नै तलव कटाएर खेलाडीहरुलाई ड्रेस सिलाइदिन्थे, आफ्नै पैसा खर्च गरेर जिल्ला वाहिरका प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराउन लान्थे,’ उनले भने । खेलाडीलाई ‘डाइट’ का लागि पनि आफैले खर्च गर्ने गरेको उनले बताए ।
उनले आफ्ना छोराछोरीलाई पनि करातेमा जोडे । दुई छोरीको अहिले विवाह भइसक्यो । दुई छोरामध्ये सक्षम सितोरियो करातेका खेलाडी हुन् भने बुद्ध अहिले गोरखाका प्रशिक्षक छन् ।
२०६१ सालमा स्थायी भएका लामाले गत जेठ ५ गते मुख्य प्रशिक्षकबाट अवकाश पाए । करातेमा ५ डानसम्म प्राप्त गरेका उनी अहिले नेपाल कराते महासंघ गोरखाको अध्यक्ष पनि हुन् । केही दिनअघि भएको अघिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
प्रशिक्षकबाट अवकाश पाएपनि कराते खेलको बिकासमा निरन्तर लागिरहने उनको लक्ष्य छ । राज्यले खेलाडीलाई दिने सेवा सुविधा सन्तोषजनक नभएको भन्दै उनी गुनासो गर्छन् । जिल्लामा कराते प्रशिक्षक अभाव भएकाले करारमा राख्न गोरखा नगरपालिकालाई उनले अनुरोध समेत गरेका छन् ।




