
कराँतेका पदक बिजेता खेलाडीहरु सम्मानित
हालै श्रीलंकामा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा पदक जित्न सफल गोरखाका खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्न सफल शहिद लखन गाउँपालिका–७ का अर्पण थापा मगर र कास्य पदक बिजेता सोही गाउँपालिका वडा नम्वर ६ की स्मृती गुरुङलाई नेपाल कराँते महासंघ गोरखाले सम्मान गरेको हो । मगरले जुनियर पुरुष व्यक्तिगत कुमुते तर्फ ७६ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए भने गुरुङले २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइटतर्फ प्रतिस्पर्धा गरेकी थिइन् ।
वुधवार एक कार्यक्रमकाबीच दोसल्ला ओडाएर नगदसहित कदर पत्रले उनीहरुलाई सम्मान गरिएको महासंघले जनाएको छ । कार्यक्रमकै अवसरमा केही समयअघि सम्पन्न भएको राष्ट्रिय र गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगिताका पदक बिजेता गोरखाका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । राष्ट्रिय स्तरको प्रतियोगितामा बसन्त परियारले कास्य पदक जित्न सफल भएका थिए ।
त्यस्तै गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा गोरखाले दुई स्वर्ण, एक रजत र दुई कास्य जितेको थियो । सृष्टी श्रेष्ठ र रुपेश गुवाजुले स्वर्ण, सुजन गुरुङले रजत, अमृत राना मगर र अनिता नेपालीले कास्य पदक जितेको महासंघले जनाएको छ । उनीहरुलाई पनि दोसल्ला ओडाएर नगदसहित कदरपत्रले सम्मान गरिएको बताइएको छ ।
कार्यक्रमकै अवसरमा कराँते प्रशिक्षक ग्याम्लो लामालाई पनि सम्मान गरिएको छ । लामो समयदेखि जिल्लाको कराँते क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसलीमाया थोकर, नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा मगर, महासंघ गोरखाका अमृत श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमपुर्व पञ्चेबाजासहित प्रभातफेरी समेत गरिएको थियो । हरमटारीबाट सुरु भएको प्रभातफेरीले पदक बिजेता खेलाडीसहितको उपस्थितीमा बजार परिक्रमा गरेको थियो ।
श्रीलंकामा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा पदक जित्न सफल मगर र गुरुङलाई शहिद लखन गाउँपालिका वडा नम्वर ७ ले पनि सम्मान गरेको छ । दोसल्लासहित कदर पत्रले उनीहरुलाई सम्मान गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।




