
गोरखाकी स्मृति गुरुङलाई श्रीलंकामा कास्यपदक
गोरखाकी स्मृति गुरुङले हालै श्रीलंकामा सम्पन्न भएको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा कास्य पदक जितेकी छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइटतर्फ कास्य पदक जितेकी हुन् ।
सहिदलखन गाउँपालिका–६ की उनी गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि भएको कराँते महासंघ गोरखाका प्रशिक्षक बुद्ध लामाले बताए । लामाका अनुसार स्मृतिले गोरखामै प्रशिक्षण लिएको र यसअघि जिल्ला र प्रदेशसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागीता जनाइसकेकी छन् ।
खेलमा सहभागी हुन श्रीलंका जानका लागि कराँते महासंघ गोरखाले उनलाई आर्थिक सहयोग गरेको थियो । बिभिन्न संघसंस्था तथा व्यक्तिबाट एक लाखभन्दा बढी रकम संकलन गरेर उनलाई हस्तान्तरण गरिएको थियो ।




