
कराँतेमा प्रदेशकै सर्वोत्कृष्ट बन्यो गोरखा
प्रतिक्षा आले :
कराँतेमा गोरखा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला बनेको छ ।
हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते विधातर्फ गोरखा प्रथम भएको हो । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गोरखाको समन्वयमा यही जेठ २७ र २८ गते प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा कराँते विधातर्फ ४ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै गोरखाको टिम च्यामपियन बनेको हो ।
प्रतियोगितामा एकल कातातर्फ जिल्लाका वसन्त परियारले स्वर्ण पदक हात पारेका थिए । ४७ केजीतर्फ रुपेश गुबाजु, ५७ केजीतर्फ फिलेमन गुरुङ र ६० केजीतर्फ सृष्टि श्रेष्ठले स्वर्ण पदक हात पारेका हुन् । ५२ केजीतर्र्फ सृजन गुरुङले रजत र ४२ केजीतर्फ अमृता राना र ५५ केजीतर्फ अनिता नेपालीले कास्य पदक जितेका छन् ।
उनीहरुलाई सदरमुकाममा एक कार्यक्रम आयोजना गरेर नगद, ट्रफी तथा मेडल वितरण गरिएको प्रशिक्षक बुद्ध लामाले बताए ।
राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराँते विधातर्फ गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै जिल्लाबाट चार जना खेलाडीहरु सहभागि भएका थिए । प्रदेश स्तरको प्रतियोगितामा एकल कातातर्फ स्वर्ण पदक जितेका वसन्त परियार, ४७ केजीतर्फ स्वर्ण पदक विजेता रुपेश गुबाजु, ५७ केजीतर्फ फिलेमन गुरुङ र ६० केजीतर्फ स्वर्ण पदक हात पारेकी सृष्टि श्रेष्ठ राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि भएका थिए । जसमध्य एकल कातातर्फ वसन्त परियारले कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।




