
गोरखामा प्रदेशस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गण्डकी प्रदेशस्तरीय १६ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताका सोमबारदेखि सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गोरखाको समन्वयमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् ।
प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र उसु गरी ६ विधाको खेलहरुमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । उनका अनुसार प्रतियोगिताका लागि जिल्लामा गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाहरुबाट एक हजारभन्दा बढी खेलाडीहरु आएका छन् । जसमध्य विभिन्न विधाबाट १०६ जना खेलाडीहरु जेठ २८ गते हुने राष्ट्रियस्तरको खेलका लागी छनोट हुने उनले बताए ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखाबाट ९४ जना खेलाडीहरुले सहभागि चएका छन् । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसअघिको वर्षहरुमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने गर्दथ्यो । गत वर्ष पहिलो पटक पोखरा बाहिर नवलपुरमा प्रतियोगिता संचालन भएको थियो ।
यो वर्ष भने गोरखामा प्रतियोगिता संचालन गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलकुदको माध्यमबाट समग्र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित जिल्लामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता जिल्ला सदरमुकाम स्थित रङ्गशाला खेल मैदान र गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटार खेल मैदानमा जारी छ ।




