| मङ्लबार, अशोज १२, २०८३

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

गोरखामा यही जेठ २६ र २७ गते १६ औँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ संचालन हुने भएको छ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गोरखाको समन्वयमा प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र उसु गरी ६ विधाको खेलहरुमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । भलिबल, कबड्डी, तेक्वान्दो, कराँते प्रतियोगिता जिल्ला सदरमुकाम स्थित रङ्गशाला खेल मैदानमा र एथ्लेटिक्स तथा उसु विधाको प्रतियोगिता गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटार खेल मैदानमा संचालन हुने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लाहरुबाट एक हजारभन्दा बढी खेलाडीहरु आउने छन् । ‘जसमध्य विभिन्न विधाबाट १०६ जना खेलाडीहरु जेठ २८ गते हुने राष्ट्रियस्तरको खेलका लागी छनोट हुनेछन’, उनले भने ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखाबाट ९४ जना खेलाडीहरुले सहभागिता जनाउने उनले बताएका छन् । समितिले होटल व्यवसायी, प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरि प्रतियोगिताको तयारी गरिरहेको अध्यक्ष तामाङको भनाई छ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसअघिको वर्षहरुमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने गर्दथ्यो । गत वर्ष पहिलो पटक पोखरा बाहिर नवलपुरमा प्रतियोगिता संचालन भएको थियो । यो वर्ष भने गोरखामा प्रतियोगिता संचालन गर्न लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलकुदको माध्यमबाट समग्र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित जिल्लामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको छ । प्रतियोगितामा करिब १२ जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्