| मङ्लबार, अशोज १२, २०८३

गोरखा कप भलिबल प्रतियोगिता अलपत्र पार्ने संस्था विवादित

गोरखा जिल्लाकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको प्रगतिशील युवा नेपाल आफै विवादको दलदलमा फँसेको छ । विवाद बढेपछि बिना जानकारी प्रतियोगिता रोकेर संस्थाका अध्यक्ष र खेल संयोजकले राजिनामा दिएका छन् ।
वैशाख २९ गतेबाट गोरखाकप भलिबल प्रतियोगिता गर्ने भनी समाजले वैशाख १७ गते पत्रकार सम्मेलन गरेर घोषणा गरेको थियो । तर घोषण गरेलगत्तै विवाद सुरु भएको थियो । विवादपछि समाधानको मार्गप्रसस्त गर्न भन्दै सो संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक दुवैले राजिनामा दिएर बसेका हुन् । अध्यक्ष दीपक थापा तथा कार्यक्रम संयोजक रवित तामाङ दुवैले राजिनामा दिएका हुन् ।
गत वैशाख २४ गते अध्यक्ष थापाले र सोको भोलिपल्ट कार्यक्रम संयोजक तामाङले राजिनामा दिएका हुन् । तर गोरखा कप भलिबल प्रतियोगिता स्थगित वा रद्ध गरिएको औपचारिक जानकारी भने अहिलेसम्म दिइएको छैन । ‘अध्यक्षज्यूले र मैले आ–आफ्नो फेसबुक पेजबाटचाहिँ खेलकुद स्थगित भएको जानकारी गराएका थियौँ’, कार्यक्रम संयोजक तामाङले भने, ‘छोटो समय भएकाले फेरि पत्रकार सम्मेलन गरेर जानकारी गराउनचाहिँ सकिएन ।’
विभिन्न कारणले गोरखा कप भलिबल प्रतियोगिता स्थगित गर्न बाध्य भएको तामाङको भनाइ छ । ‘आफ्नो गृहजिल्लामा ठूलो प्रतियोगिता गरौँ भन्ने पवित्र चाहना हुँदा हुँदै गर्न सकिएन’, उनले भने, ‘मोफसलमा ठूलो कार्यक्रम गर्दा कार्यक्रम खर्च जुटाउन पनि मुस्किल पर्ने रहेछ । दोस्रो समस्या खेलाडीको भयो । कार्यक्रम जुधेका कारण डिभिजनल खेलाडी पाइएन । अनि मौसम पनि प्रतिकुल बन्दै गयो ।’ मनसुन सकिएपछि पुन कार्यक्रम गर्ने उनले बताए ।
सो समाजले वैशाखको २९ गते(वुद्धजयन्ती)ेदेखि जेठ २ गतेसम्म सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको थियो । तर खेल रद्ध भएको सूचनासमेत नगरी सम्पर्कबिहिन भएको हो ।
प्रगतिशील युवा नेपाल नामक सो संस्थाले ‘प्रथम गोर्खा कप भलिबल प्रतियोगिता’ नाम दिएर प्रतियोगिता आयोजना गर्न लागेको थियो भने उपाधी बिजेतालाई तीन लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । साथै द्वितीय हुनेलाई एक लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
३४ लाख २५ हजार खर्च हुने घोषणा गरेको सो संस्था प्रतियोगिता नै नगरी सम्पर्कबिहिन भएपछि सरोकारवाला खेलप्रेमीहरुले चासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्