
दोस्रो मेयर कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक
यही चैत २१ गतेबाट सुरु हुन लागेको दोस्रो मेयर कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । आयोजक गोरखा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत टाइसिट सार्वजनिक गरेको हो । नगरपालिकाले सार्वजनिक गरेको टाइसिट अनुसार चैत २१ गतेको पहिलो खेल बिहान ८ बजे गोरखा नगरपालिकाको वडा नम्वर १२ र १४ बीच हुनेछ । यस्तै दोस्रो खेल वडा नं २ र वडा नं ११ बीच हुने बताइएको छ ।
प्रतियोगिताको दोस्रो दिन चार खेल हुने गोनपा स्तरीय खेल समितिका संयोजक एवं गोनपा १० का वडाध्यक्ष प्रदिप कुँवरले बताए । ‘पहिलो खेल वडा नं ७ र वडा नं १ बीच बिहान ८ बजे हुनेछ भने दोस्रो खेलमा वडा नं १० र वडा नं ८ भिड्ने छन्’, उनले भने, ‘तेस्रो खेल वडा नं ४ र वडा नं १४ बीच र चौथो खेल वडा नं ५ र वडा नं ६ बीच दिउँसो ४ बजे हुनेछ ।’
उनका अनुसार प्रतियोगिताको तेस्रो दिन २३ गते दोस्रो चरणको क्वाटरफाइनल खेलहरु हुनेछन् । २४ गते सेमिफाइनल खेल हुने बताइएको छ । फाइनल खेल चैत २५ गते दिउँसो ३ बजे हुने कुवँरले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद रु १ लाख १ हजार १११ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै, प्रतियोगितामा दोस्रो हुने टिमले ५१ हजार १११, तेस्रो हुनेले ३० हजार १११ र सान्त्वना हुनेले १५ हजार १११ रुपैँया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलमा सर्वोकृष्ट खेलाडीले नगद रु ५ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र उत्कृष्ट कोचले रु २ हजार १११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।




