| मङ्लबार, अशोज १२, २०८३

दशौँ ओसन कप राष्ट्रिय फुटबल प्रतियोगिता चैत्र २८ गतेबाट

जिल्लामा दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लवको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा यही चैत्र २८ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

‘गोरखाको गौरव गोरखाको शान, युवा फुटबल विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बैशाख १ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभित्रका तीन र जिल्ला बाहिरका ९ गरी कुल १२ टिमले सहभागिता जनाउने आयोजक क्लबका सचिव सविन खत्रीले बताए ।

जिल्लाभित्रको टिममा गोरखा नगरपालिका स्तरीय अन्तरविद्यालय लिग २०८१ को विजेता, उपविजेता र आयोजक द ओसन क्लवको टोली रहने उनले जानकारी दिए । यस्तै, जिल्ला बाहिरका टोलीहरुलाई भने क्लवले जारी गरेको सार्वजनिक सूचनाका आधारमा इच्छुक टिमहरु मध्यबाट छनोट गरिने बताइएको छ । प्रतियोगितामा जिल्लाबाट द ओल्ड क्यापिटल मावि, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र आयोजक द ओसन क्लवले सहभागिता जनाउने छन् ।

यस्तै, जिल्ला बाहिरबाट थ्री स्टार क्लब ललितपुर, समाज कल्याण खेलकुद केन्द्र काठमाडौँ, जि एण्ड ए एकेडेमी काठमाडौँ, घोडाघोडि फुटबल क्लव कैलाली, कटारी टाईगर फुटबल क्लव उदयपुर, नवजन जागृती भेट्रान्स क्लब सिमरा, पटिहानि फुटबल क्लब चितवन, नारायणगढ फुटबल क्लब चितवन र मार्दिखोला युनाईटेड क्लव पर्वत छनोट भएको सचिव खत्रीले जानकारी दिए । प्रतियोगिताका बिजेता टिमलाई नगद सहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

देशभरका युवा खेलाडीहरुको जमघट गराएर युवा अवस्थादेखि नै फुटबल प्रतियोगिताको उत्कृष्ट वातावरणको अनुभव गराउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा ३९ खेलहरु हुने र सहभागि टिमहरुले एकआपसमा कम्तिमा ५ खेल खेल्न पाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्