| बुधबार, साउन २६, २०८३

मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

गोरखा नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता र उपमेयरकप महिला भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मेयर कप फुटबलको दोस्रो श्रृङ्खला र उपमेयरकप महिला भलिबल प्रतियोगिताको प्रथम संस्करण एकै दिन, एकै ठाउँमा हुन लागेको हो ।

नगरपालिका भित्रका १४ वटै वडाको सहभागिता रहने गरी यही चैत २१ गतेदेखि २५ गतेसम्म छेपेटारस्थित खेलमैदानमा प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । सोही मितिदेखि ‘प्रथम अन्तरपालिका उप–प्रमुख भलिबल कप’ सुरु हुने उनले बताए । खुल्ला महिला भलिबल प्रतियोगिता पनि सोही मितिमा नै हुने उनले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहसहित गोरखा नगरपालिकाको भगिनी सम्बन्ध रहेको धादिङको निलकण्ठ नगरपालिकाको पनि सहभागिता रहने बताएको छ । दुवै प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय एघार (१,०१,१११) रुपैयाँ रहेको छ । द्वितीय हुनेले ५१ हजार १११ र तृतीयले ३० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै सान्तवना हुने टिमले १५ हजार १११ रुपैयाँ नगदको साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । मेयर कप तर्फभने उत्कृष्ट खेलाडीले ५ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उत्कृट कोचलाई पनि जनही २ हजार १११ रुपैँया नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

मेयर कपमा सहभागिता जनाउनका लागि नगरपालिकामा स्वयं उपस्थित भई वा नगरपालिकाको ईमेल ठेगानामार्फत टिम दर्ता गराउन सकिनेछ । उप–प्रमुख कपतर्फ भने टिम दर्ताको अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दुबै प्रतियोगिता गोरखा नगरपालिका वडा नं. १० स्थित छेवेटार खेलकुद मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्