
नवौँ गोर्खाली रनिङ कपको दोस्रो दिन दुई खेल सम्पन्न
गोरखामा जारी ‘नवौँ गोर्खाली रनिङ कप’ पलुटबल प्रतियोगिताको दोस्रो दिन बिहिबार दुई खेल सम्पन्न भएका छन् । जिल्ला सदरमुकामको हरमटारी खेल मैदानमा संचालन भइरहेको प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न भएको आयोजक हरमटारी क्लबले जनाएको छ ।
पहिलो खेल लक्ष्मीबजार हर्ट क्लव र रिपुमर्दन दल गणबीच भएको क्लबका महासचिव किरण ढकालले बताए । उक्त खेलमा ४–० को फराकिलो गोल अन्तरले लक्ष्मीबजार हर्ट क्लव विजयी बनेको उनले जानकारी दिए । यस्तै, दोस्रो खेल सतिपिपल क्लव र सुर्योलय युवा परिवार छेवेटार बीच भएको थियो । सो खेलमा २–० को गोल अन्तरालले सुर्योदय युवा परिवार विजयी बनेको बताइएको छ ।
प्रतियोगिता अन्तरगत तेस्रो दिन शुक्रबार जम्मा एक खेल मात्र संचालन हुनेछ । शुक्रबार द हिमालयन बगैँचा आरुघाट र न्यु दौतरी युवा क्लव चित्रेपोखरीबीच प्रतिस्पर्धा हुने आयोजकको भनाइ छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई प्रोत्साहनस्वरुप १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबले जनाएको छ । खेलमा सहभागी खेलाडीहरुको तीनलाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।




