| मङ्लबार, अशोज १२, २०८३

गोरखामा आजदेखि ‘नवौँ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु

गोरखामा आज (बुधबार)देखि ‘दि अन्नपूर्ण स्कुल,नवौँ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बुधबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

हरमटारी क्लवको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन खेल द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीच भएको छ । प्रतियोगिताको दोस्रो दिन बिहिबार दुई खेल हुने क्लबका महासचिव किरण ढकालले बताए । उनका अनुसार तेस्रो दिन द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरीबीचको खेल मात्र हुने छ ।

फागुन १० गते समिचौर युथ क्लब गोरखा र न्यू जनसहारा युथ क्लब देउराली एवं हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिमबीचका खेलहरु हुने छन् । फागुन ११ बाट दोस्रो चरणका खेलहरु सुरु हुने आयोजकले जनाएको छ । सो दिन द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीचको बिजेता टिम चाइनिज धारा फेमेली क्लब गोरखासँग भिड्नेछ ।

यस्तै, दोस्रो खेल रिपुमर्दन गण र लक्ष्मीबजार हर्ट क्लबका बिजेता टिम र सूर्यपुर एफसी चितवनबीच हुने आयोजकले जनाएको छ । फागुन १२ गते सतिपिपल क्लब र सूर्योदय युथ फेमेली छेपेटार तथा समिचौर युथ क्लब र न्यू जनसहारा युथ क्लब देउरालीबीचका बिजेता टिमहरु एक आपसमा प्रतिस्पर्धा गर्ने छन् ।

सोही दिनको दोस्रो खेल द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरी तथा हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिम गण्डकीबीचका बिजेता टिमहरु भिड्ने छन् । फागुन १३ बाट सेमिफाइनलका खेलहरु सुरु हुने छन् ।उक्त खेलमा दोस्रो चरणका बिजेता टिमहरुबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल फागुन १४ गते दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहने छ ।

उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबका अध्यक्ष गुरुङले बताए ।खेलमा सहभागी खेलाडीहरुको तीनलाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्