
अन्तर वडा दोस्रो शहिद लखन कप भलिवल प्रतियोगिता सुरु
शहिद लखन गाउँपालिकामा अन्तरवडा दोस्रो शहिद लखन कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । नेपालका प्रथम शहिद लखन थापा तथा उनका सहयोद्धा जयसिं चुमी राना मगरको स्मृति दिवसको सन्दर्भ पारेर मंगलबाट प्रतियोगिता सुरु भएको हो ।
पहिलो दिन ६ खेल सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र खनालले बताए । उनका अनुसार पहिलो खेल वडा नम्वर ७ र ९ बीच भएको थियो । उक्त खेलमा वडा नम्वर ७ बिजयी भएको छ । वडा नम्वर ४ र ६ बीच भएको दोस्रो खेलमा वडा नम्वर ४ बिजयी भएको छ ।
तेस्रो खेलमा वडा नम्वर ५ लाई हराउँदै वडा नम्वर १ बिजयी बनेको खनालले बताए । त्यस्तै वडा नम्वर २ र ८ बीच भएको चौथो खेलमा वडा नम्वर २ बिजयी बनेको उनले जानकारी दिए । उनका अनुसार पाँचौ खेल वडा नम्वर ३ र ७ बीच भएको थियो । उक्त खेलमा वडा नम्व्र ३ बिजयी बनेको छ । छैटौ तथा अन्तिम खेलमा वडा नम्वर ९ लाइ हराउँदै वडा नम्वर ४ बिजयी बनेको पालिकाले जनाएको छ ।
गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उपाधी बिजेताले शहिद लखन कप रनिङ शिल्डको साथमा १ लाख ११ हजार १११ (कर सहित) नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो र तेस्रो हुनेले क्रमश ५५ हजार ५५५ र ३३ हजार ३३३ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने खनालले बताए ।
त्यस्तै सान्त्वना हुनेले २२ हजार २२२ नगद पुरस्कारको साथमा प्रमाणपत्र पाउने बताइएको छ । प्रतियोगितामा पालिकाभित्रका नौ वटै वडाको टिम सहभागी छन् । वडा नम्वर ७ काउँले भंगारस्थित खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेल यही फागुन २ गते हुने छ । प्रतियोगिताको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।




