| मङ्लबार, अशोज १२, २०८३

नवौँ गोर्खाली रनिङ कपको टाइटल स्पोन्सर ‘द अन्नपूर्ण स्कुल’

आगामि फागुन ७ गतेबाट हुने जिल्लाको सर्वाधिक पुरस्कार राशीको नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर द अन्नपूर्ण स्कूल हुने भएको छ । ‘गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने नाराका साथ फागुन ७ देखि १४ गतेसम्म हुने गोर्खाली रनिङ कप प्रतियोगिताको टाइटल स्पोन्सर द अन्नपूर्ण स्कुल हुने स्कुलका सञ्चालक किरण ढकालले बताए ।

हरमटारी क्लवले आयोजना गर्ने सो प्रतियोगिताको टाइटल स्पोन्सर गरेसँगै अब सो प्रतियोगिताको नाम द अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कप हुने क्लबका अध्यक्ष जीवन गुरुङले बताए । टाइटलका लागि क्लब र स्कुल बीच सहमतिसमेत भएको उनले बताए । शिक्षा र खेलकुदलाई सँगसँगै अघि लैजानका लागि यो सहमति गरिएको संस्थापक सञ्चालक ढकालले बताए ।
२०६१ सालमा स्थापना भएको उक्त स्कुल गत वर्षदेखि नयाँ व्यवस्थापनको साथ सञ्चालन भई रहेको छ ।

नयाँ व्यवस्थापनसहितको स्कुल सञ्चालन भएको एक वर्षको अवधिमा हरमटारी क्लवको गहना बनेको गोर्खाली रनिङ कप र फुलबल खेललाई प्रोत्सहान गर्दै टाइटल स्पोन्सर गरिएको फाउण्डर ढकालले जानकारी दिए । ढकाल क्लबका महासचिव समेत हुन् । कक्षा ६ सम्म सञ्चालन रहेको उक्त स्कुल यसै वर्षदेखि कक्ष ७ र ८ सञ्चालनमा ल्याउने उनले बताए ।

उक्त प्रतियोगिताको बिजेताले चार लाख रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपबिजेताले दुई लाख रुपौयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई रु १० हजार नगद पुरस्कारले प्रोत्साहन गर्नेसमेत व्यवस्था रहेको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने अनुमान क्लवको छ । हालसम्म १० टिम सम्पर्कमा आई सकेको अध्यक्ष गुरुङले बताए । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । खेलमा सहभागी हुनका लागि अन्तिम दर्ता मिति फागुन १ गते तोकिएको छ । प्रतियोगिताको करिब ६० प्रतिशत काम सम्पन्न भईसकेको आयोजकले जनाएको छ ।

खेल हेर्नका लागि टिकटको समेत व्यवस्था गरिएको छ । अन्य दिन रु ५० तोकिएको छ भने सेमिफाइनल र फाइनलको दिन रु एक सय टिकट शुल्क लाग्ने आयोजकले बताएको छ । खेल सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्