
गोनपा स्तरीय अन्तर विद्यालय लिग : छात्रातर्फ रत्नलक्ष्मी र छात्रतर्फ ओल्ड क्यापिटल विजयी
गोरखा नगरपालिका स्तरीय अन्तर विद्यालय लिगको छात्रातर्फको खुल्ला प्रतियोगितामा रत्नलक्ष्मी मावि, डुम्रीडाँडा विजयी बनेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा महालक्ष्मी मावि लक्ष्मीबजारलाई २–१ ले हराउँदै रत्नलक्ष्मी विजयी बनेको हो ।
द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको छ । छात्रातर्फको प्रतियोगितामा नगरपालिकाभित्रका ७ विद्यालयहरुले सहभागिता जनाएका थिए । यस्तै, छात्रतर्फको अन्तर विद्यालय लिग यु–१३ प्रतियोगिताको उपाधि ओल्ड क्यापिटल मावि रानीवनले हात पारेको छ ।
लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजारलाई ५–० ले हराउँदै ओल्ड क्यापिटल मावि विजयी बनेको हो । यु–१३ छात्रतर्फको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएको थियो । छात्रा र छात्रतर्फको प्रतियोगिता गत असोज ५ गतेबाट सुरु भएको थियो ।
विजेता टिमहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेको आयोजन द ओसन क्लवले जनाएको छ । यस्तै कार्यक्रममा गोनपा–९ का वडा अध्यक्ष कुल बहादुर कुँवरले पनि सहभागिता जनाएको बताइएको छ ।




