| मङ्लबार, अशोज १२, २०८३

मनकामना–गोरखा दरबार खुल्ला म्याराथन दौडको खर्च सार्वजनिक

मंसिर २९ गते सम्पन्न भएको मनकामना मन्दिरदेखि गोरखा दरबारसम्मको खुल्ला म्याराथन दौड प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले शुक्रबार एक कार्यक्रमकाबीच खर्च सार्वजनिक गरेको हो ।
प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३८ हजार खर्च भएको समिति अध्यक्ष कृष्णसिं बस्न्यातले बताए ।

त्यसमध्ये हालसम्म पाँच लाख मात्र प्राप्त भएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश खेलकुद परिषद्बाट ४ लाख ५० हजार र मनकामना दर्शन प्रालिबाट ५० हजार रकम प्राप्त भएको छ । अन्य खर्च भने उठ्न बाँकी रहेको बताउँदै उनले परिषद्ले थप एक लाख दिने प्रतिबद्धता समेत जनाएको जानकारी गराए ।

उनले भने, ‘खर्च रकमहरु उठ्न बाँकी नै छ । पालिकाहरुले पनि दिन्छौं भनेका छन्, स्पोन्सरहरुबाट पनि आउने क्रम जारी छ, अर्को वर्ष मिल्यो भनी हाफ म्याराथन गर्ने पनि सोच बनाएका छौं ।’ यस्तै माघ ५ गतेदेखि ७ गतेसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यो बर्ष पालुङटार नगरपालिका–५ स्थित भवानि माविको खेलमैदान मा प्रतियोगिता गर्न लागिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न साढे सात लाख खर्च लाग्ने अनुमान गरिएको छ । पालुङटार नगरपालिकाले तीन लाख छुट्याएको अध्यक्ष बस्न्यातले बताए । प्रतियोगितामा जिल्लाका करिब ८ सय विद्यार्थी खेलाडीको सहभागिता रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्