
गोरखाका बोगटी बने दमौलीको सचिन स्मृति दौड प्रतियोगिताका विजेता
रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार दमौलीमा आयोजित २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखा सिरानचोकका दिनेशसिंह बोगटी प्रथम भएका छन् ।
दमौली अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किलोमिटर दूरी २० मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटी पहिलो भएका हुन् ।
प्रतियोगितामा नुवाकोटका संजय तामाङले २० मिनेट २१ सेकेण्डमा दुरी पुरा गरी दोश्रो र तनहुँको ऋषिङ गाउँपालिका ४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दुरी पुरा गरी तृतीय भएका छन् ।
त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल पहिलो र ४५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावक तर्फ पहिलो भएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार ५ सय, द्वितीय हुनेलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा १ सय ११ जना धावकको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।




