
छेवेटारमा तेस्रो वडाकप–२०८१ सम्पन्न
छेवेटारमा जारी गोनपा–१० स्तरीय तेस्रो वडाकप सोमबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट सुरु भएको खेल सोमबार सम्पन्न भएको हो । वडाकप अन्तरगत खुल्ला तथा भेटेरान्सतर्फको फुटबल प्रतियोगिता र महिला तथा पुरुषतर्फको डोरी तान्ने प्रतियोगिता समपन्न भएको वडाअध्यक्ष प्रदिप कुँवरले बताए ।
जसमा वडास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि समिचौर टोल बिकास संस्थाले हात पारेको उनले जानकारी दिए । अमलापानी टोलसंग भएको फाइनल खेलमा ४–० को फराकिलो गोल अन्तरले समिचौर विजयी बनेको उनको भनाई छ । उनीहरुले नगद रु ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको उनले बताएका छन् ।
खुल्ला फुटबल प्रतियोगिता अन्तरगत सर्वोत्कृष्ट खेलाडीको उपाधी अजय राना मगरले हात पारेका छन् । यसैगरी सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकको उपाधी ज्ञानदीप मल्लले हात पारेका छन् । उनीहरुले नगद रु ३ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाअध्यक्ष कुँवरले बताए । यस्तै, उपविजेताले बनेको अमलापानी टोलले २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
यस्तै, भेटेरान्स फुटबल प्रतियोगिताको उपाधी तीनघरे बिरिन्चोकले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा तीनघरे छेवेटार टोललाई ६–० को गोल अन्तरले हराउँदै तीनघरे बिरिन्चोक विजयी बनेको हो । विजेता र उपविजेताले क्रमश रु २५ हजार र १५ हजार बराबरको खसी सहित मेडल र प्रमाणप्रत्र प्राप्त गरेको बताइएको छ ।
महिला तर्फको डोरी तान्ने प्रतियोगितामा साँझाफेदी टोल विजयी भएको छ भने पुरुषतर्फ समिचौर टोल विजयी बनेको छ । उनीहरुले २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकको भनाइ छ । गोरखा नगरपालिकाको १० नं वडा कार्यालयले ४ लाख २० हजार रकम बिनियोजन गरेर प्रतियोगिता संचालन गरेको हो । यसलाई आफ्नो कार्यकाल भर निरन्तरता दिने वडाअ्रध्यक्ष प्रदिप कुँवरले बताउँदै आएका छन् ।




