| मङ्लबार, अशोज १२, २०८३

मनकामना–गोरखकाली मन्दिर म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रावललाई

गोरखाको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावलले हात पारेका छन् । ४२.१९५ किलोमिटरको निर्धारित दुरी २ घण्टा ३६ मिनेट ७ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

निर्धारित दुरी २ घण्टा ४० मिनेट ४४ सेकेण्डमा पार गर्दै नेपाली सेनाकै होमलाल श्रेष्ठ उपाधि उपबिजेता बनेका छन् । उनले एक लाख नगद पुरस्कार पाएको आयोजना जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ । नेपाली सेनाकै गजेन्द्र राईले तेस्रो स्थान हासिल गरेका छन् । निर्धारित दुरी उनले २ घण्टा ४४ मिनेट ६ सेकेण्डमा पार गरेका उनले ७५ हजार नगद पुरस्कार पाएको जिल्ला खेलकुद बिकास समिति अध्यक्ष शान्त सिं बस्नेतले बताए ।

प्रतियोगितामा गोविन्द कार्कीले चौथो, गोपाल तामाङले पाँचौ, सुवास कार्कीले छैठौ र तिलक सनुवारले सातौ स्थान हासिल गरेका छन् । निर्धारित दुरी उनीहरुले क्रमश २ घण्टा ४५ मिनेट ४२ सेकेण्ड, २ घण्टा ४७ मिनेट ५८ सेकेण्ड, २ घण्टा ४८ मिनेट ३२ सेकेण्ड र २ घण्टा ४९ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । उनीहरुले क्रमश ६० हजार, ५० हजार, ४० हजार र ३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

निर्धारित दुरी २ घण्टा ५४ मिनेट ३६ सेकेण्डमा पार गरेर आठौं स्थान हासिल गरेका राजन म्योयुङगाले २५ हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै नवौं स्थान हासिल गर्ने कुलबहादुर बस्नेतले २० हजार नगद पुरस्कार पाएका छन् । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ५७ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा दशौं स्थान हासिल गरेका प्रताप थामसोहाङले १५ हजार नगद पुरस्कार पाएका छन् । निर्धारित दुरी उनले २ घण्टा ५८ मिनेट ५ सेकेण्डमा पार गरेका थिए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा कुल १ सय ५ जना सहभागी थिए । मनकामना मन्दिर परिसरबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, पस्लाङ चौतारा, धारापानी, विपिचौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका हुदैँ गोरखकाली मन्दिर पुगेर टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्